जनकपुरधाममा जारी सीताराम विवाह पञ्चमी महोत्सवको दोश्रो दिन फूलवारी लीला सम्पन्न भएको छ । प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रवार दोश्रो दिन फूलवारी लीला मनाइएको हो ।
शुक्रवार सांझ सीतारामको प्रतीकात्मक स्वरुप बनाएर मैथिल वैवाहिक संस्कारको गीत गाउंदै सो फुलवारी लीलाल जानकी मन्दिरस्थित विवाह मण्डपमा मनाइएको छ । तुलसीकृत रामायण अनुसार तत्कालीन मिथिला नरेशले जनकपुरधाममा आयोजना गरेको धनुष यज्ञमा सहभागी हुन अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र राम, लक्ष्मण सहित गुरु विश्वामित्र जनकपुरधाम आउने क्रममा फुलहरमा सीता र रामबीच भएको पहिलो भेटको स्मरणमा विवाह पञ्चमी महोत्सवको अवसरमा फूलबारी लीला मनाइदै आएको छ ।

जानकी मन्दिरद्वारा जनकपुरधामको विवाह मण्डपमा आयोजना गरिएको फूलबारी लीला हेर्नका लागि श्रद्धालुहरुको भीड लागेको थियो । सो अवसरमा विभिन्न प्रकारको मैथिली वैवाहिक गीत सङ्गीत तथा नृत्यहरू प्रदर्शन गरिएको थियो । जनकपुरधाममा आयोजना हुने महोत्सव मध्ये सबै भन्दा ठूलो धार्मिक महोत्सवको रुपमा सीताराम विवाह पञ्चमी महोत्सव रहेकाले जानकी मन्दिरलाई बेहुलीझैँ सिँगारिएको छ ।
विवाह पञ्चमी महोत्सव हेर्न नेपाल तथा भारतका साधु सन्तसहित लाखौ श्रद्धालु जनकपुरधाम आउने गरेको छ । सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत शनिवार मङ्सिर ६ गते धनुष यज्ञ, मङ्सिर ७ गते आइतबार तिलकोत्सव, मङ्सिर ८ गते सोमवार मटकोर, मङ्सिर ९ गते मङ्गलवार स्वयंम्बर तथा शुभ विवाहोत्सव र मङ्सिर १० गते अन्तिम दिन बुधवार रामकलेवा गर्दै महोत्सव समापन गरिनेछ ।


