नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छिटै संवैधानिक बाटोमा फकाईने बताउनुभएको छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक ढंगले सत्ताकव्जा र संसद बिघटन गर्ने काम भएको भन्दै देशलाई संवैधानिक बाटोमा फकाईने बताउनुभएको हो । अराजकताको राज धेरै लामो समय नटिक्ने भन्दै ओलीले अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने जिकिर गर्नुभयो । उहाले असंवैधानिक तवरले बिघटन गरिएको प्रतिनिधिसभा अविलम्व पुनस्थापना हुनुपर्नेमा जोड दिनुभयो । उहाले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाउनुभयो । जेनजीका नाममा आफैले केहि व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका नाममा घृणा फैलाउने काम भइरहेको उहाले बताउनुभयो । अध्यक्ष ओलीले बारामा नियोजित रुपमा एमालेको कार्यक्रम असफल बनाउने काम भएको भन्दै एमालेलाई निषेध गर्ने क्रम जारी रहे सह्य नहुने चेतावनी दिनुभयो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सरकारको नाटक मात्रै भएकाले निर्वाचन हुन्छ भनेर भ्रम पाल्न नहुने उहाले बताउनुभयो । उहाले दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोको यथार्थका बारेमा प्रधानमन्त्रीले जनतालाई जानकारी गराउनुपर्ने भन्दै प्रसाईंलाई गिरफ्तार गरेर यथार्थबाट भाग्न नमिल्ने उल्लेख गर्नुभयो ।

एमाले देशको सबैभन्दा लोकप्रिय र देशभक्त पार्टी भएको भन्दै उहाले कसैको धम्की वा घेराबन्दीबाट नडराउने स्पष्ट पार्नुभयो । एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचलान कार्यक्रम अन्तरगत शनिबार काठमाडौंमा जनसभाको आयोजना गरेको हो ।


