नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेसंगै प्रतिनिधिसभा पुनस्र्थापनाको मागमा नेकपा एमाले एक्लिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकबाट वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन– जीले उठाएको मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय बैठकले गरेको छ ।

त्यस्तै राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ । तर दल दर्ताका लागि पठाइने पत्रमा सभापति शेरबहादुर देउवाकै नाम पठाउने वा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम पठाउने भन्नेबारेमा उल्लेख गरिएको छैन । दल दर्ता गर्दा सभापति देउवाकै नाम पठाउँदा निर्वाचनको टिकट वितरणमा उनी नै सक्रिय हुने आशंका व्यक्त गरिएको छ ।
कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि सर्वोच्च अदालतको व्याख्यालाई मान्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको मिति घोषणा भइसकेकोले सर्वोच्च अदालतको व्याख्यालाई सम्मान गर्ने निर्णय गरेको छ । ‘संसद विघटनको उपक्रम संविधानको परिकल्पना तथा सम्मानित अदालतको व्याख्या विपरीत छ । संसद विघटन असंवैधानिक छ । यस कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा परेको छ ।
संविधान भित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘त्यस पछाडि, अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभइ संवैधानिक पनि भएको र सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेकोले सर्वोच्च अदालतबाटै अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली कांग्रेस विश्वास गर्दछ ।’ शनिबार नै एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापनाको विकल्प नभएको बताइरहँदा कांग्रेसले चुनावमा जाने निर्णय गरेसंगै राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ ।
२४ भदौँको अकल्पनीय विध्वंश र अराजकतापछि संसद बाहिरबाट प्रधानमन्त्री चयन गर्नुपर्ने स्थिति आएको कांग्रसले स्पष्ट पारेको छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावको विरोध गरिरहेकाहरूसँग छलफल गरेर चुनावमा ल्याउनका लागि पहल गर्ने बताए । पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले भने, ‘फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ,’ केन्द्रीय कार्य समिति बैठकपछि उनले भने, ‘त्योसँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरुलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ । उनीहरुसंग संवाद गर्दछ, उनीहरुलाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने पहल हुन्छ ।’ यससंगै तोकिएकै समयमा चुनाव गराउन सरकारलाई खबरदारी गर्ने समेत उनले बताए । उनले भने, ‘सँगै निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्दछ,’ थापाले भने, ‘हातहतियार बाहिर छन्, कैदीहरु फरार छन् ।
राजनीतिक दलहरुले निर्वाधरुपले आफ्ना गतिविधि गर्न पाउनुपर्छ । सरकार राजनीतिक दलहरुले निर्वाध आफ्ना गतिविधि गर्न पाउनुपर्नेतिर गम्भीर भइरहेको छैन । फागुन २१ भन्दा अर्को कुनै पनि निकास नेपालको अहिलेको जटिलताले पाउँदैन ।’ उनले केही राजनीतिक दल र समूहले जबर्जस्ती उत्तेजना फैल्याउने काम गरेको समेत आरोप लगाए । उनले कांग्रेसले निर्वाचनमा भाग लिएर शान्तिको नेतृत्व गर्ने बताए । महामन्त्री थापाले भने, ‘उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ, शान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्दछ ।’ कांग्रेसले एक महिनाभन्दा लामो समय चलेको बैठकपछि विभिन्न १६ बुँदे निर्णय गरेको छ ।
आफ्नो औपचारिक निर्णयमा पनि कांग्रेसले त्यही भाषा प्रयोग गरेको छ । ‘विद्यमान शान्ति–सुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर चिन्ता व्यक्त गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘यस्तो संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड् काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन सक्दैन ।’ कांग्रेसले गरेको निर्णयमा भनिएको छ, ‘ लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न सकिँदैन । यस्तो कार्य संविधानको आधारभूत मूल्य मान्यता विपरीत छ । यसले समाजमा थप ध्रुवीकरण र हिंसा निम्त्याउने सम्भावना बढाउँछ ।’


