२०८२ मंसिर ७, आईतवार १९:०५

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ ।

त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतबार तिलकोत्सव विधि गरिएको हो । राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव पुगेका थिए ।

प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित राम मन्दिरका महन्थबिच अङ्कमाल गर्दै समधी मिलन गरिन्छ । यस वर्ष जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीले समधी मिलन गर्नु भएको छ ।

तिलकोत्सवको अवसरमा दुवै पक्षबिच हास्य सपरिहास समेत भएको थियो । जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको प्राङ्गणमा आएर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए ।

विवाहपञ्चमीको पाँचौँ दिन सोमबार माता सीताको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने मङ्गलबार विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ । बुधबार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी विधिवत् रूपमा सम्पन्न हुनेछ ।

Comment


Related News