दुर्गा प्रसाईं रिहा भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा आइतबार सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो।
प्रसाईंलाई छोरा निराजनको जिम्मा लगाएर रिहा गरिएको हो।
गत सोमबार मध्यराति प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। उनले दिएको अभिव्यक्तिका कारण सार्वजनिक शान्तिमा खलल पुगेको प्रहरीको दाबी छ। सोही कसुरमा मंगलबार उनलाई ४ दिन हिरासतमा राख्न लिएको प्रहरीले शुक्रबार फेरि ५ दिन म्याद लिएको थियो।
तर, प्रसाईंलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा उनका छोराले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए।
मंसिर ३ गते दर्ता भएको निवेदनमा ४ गते बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र उपस्थित गराउन आदेश गरेको थियो। आदेशअनुसार नै प्रहरीले आइतबार प्रसाईंलाई अदालतमा उपस्थित गराएको थियो।



