ऐतिहासिक धार्मिक परम्परासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सव शान्त, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, धनुषाले विशेष सूचना जारी गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्र तथा परिक्रमा सडकको दायाँबायाँ क्षेत्रमा आइतवार राति १२ बजेदेखि मदिरा बिक्री–वितरण, पशुपन्छी काट्न, माछा–मासु बिक्री तथा वितरण तथा अन्य नसालु पदार्थको सेवनमा पूर्ण रूपमा एक सूचना गरी जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको जनाएको छ ।
सूचनाअनुसार मिति २०८२ मंसिर ७ गते राति १२ः०० बजेदेखि २०८२ मंसिर ९ गते राति १२ः०० बजेसम्म उक्त प्रतिबन्ध लागू हुनेछ । सरोकारवालासँग गरिएको बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यो कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ । अधिकारीहरूले सूचनाको उल्लंघन गरी प्रतिबन्धित काम गरेको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएका छन् भने सर्वसाधारण, व्यवसायी तथा श्रद्धालुहरूलाई नियमको पालना गरी सहयोग गर्न आग्रह समेत गरेको छ ।



