२०८२ मंसिर ८, सोमबार १३:४७

रौतहटको पश्चिमी भेगस्थित फतुवा–बिजयपुर नगरपालिकामा करार सेवा अवधि समयमै नथपिएको विरोधस्वरूप करार कर्मचारीले अघोषित व्यवस्थापन ठप्प पार्नेगरी थालेको तालाबन्दी १२ औँ दिनमा पुगेको छ। लगातार धर्नामा बसेका कर्मचारीहरू लिखित सहमति नआएसम्म तालाबन्दी नखुल्ने अडानमा दृढ छन्।

तालाबन्दीका कारण वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्मका सबै सेवा पूर्णरूपमा अवरुद्ध बनेका छन्। दैनिक कागजी काम, सिफारिस, प्रमाणिकरण जस्ता आवश्यक सेवा लिन आएका स्थानीयवासी दिनहुँजसो अलपत्र पर्न थालेका छन्।

कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले शुक्रबार कार्यालयमै पुगेर तालाबन्दी खुलाउन प्रयास गरेकी थिइन्। तर कर्मचारीहरूले “पहिले लिखित प्रतिवद्धता, त्यसपछि मात्र तालाबन्दी फुकुवा” भन्ने अडान पछ्याएपछि वार्ता फेरि पनि निष्कर्षविहीन भयो। खातुनले करार अवधि विस्तारमा ढिलाइ हुनुमा प्रमुख प्रशासकीय अधिकृत ९सीएओ० नहुँदा प्रक्रिया रोकिएको बताउँदै, “म कसैलाई कामबाट हटाउन खोजेकी छैन। सीएओ आएपछि नै आवश्यक निर्णय र लिखित सहमति दिन सकिन्छ,” भन्दै कर्मचारीलाई काममा फर्किन अपिल गरिन्।

पत्रकार सम्मेलनमार्फत कार्यवाहक नगरप्रमुख खातुनले अर्को चर्चामा रहेको विद्युत् महसुल मुद्दाबारे पनि स्पष्ट धारणा राखिन्। उनका अनुसार नगरवासीको बक्यौता भुक्तानीका लागि २ करोड रुपैयाँ विनियोजन भइसकेको छ। तर मन्त्रालयको नयाँ निर्देशनले वितरणमुखी कार्यक्रम सञ्चालनमा रोक लगाएपछि प्रक्रिया रोकिएको उनले बताइन्। “वडाअध्यक्षदेखि कार्यपालिका सदस्यसम्म एउटै निर्णय भए, नगरबासीको सम्पूर्ण बक्यौता भुक्तानी गर्न म तैयार छु,” खातुनको भनाइ छ।

आन्दोलनरत कर्मचारीका प्रतिनिधि सुबोध यादवले सेवा अवधि विस्तारमा बारम्बार ढिलाइ हुँदा आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको बताए। उनका अनुसार, “प्रतिवद्धता लिखितमा नआएसम्म तालाबन्दी खुल्दैन। सीएओ आएपछि मात्र छलफल सम्भव छ।”

यसबीच, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भारत यादवको सरुवा भएको दुई सातापछि समेत मन्त्रालयले अहिलेसम्म प्रतिस्थापन पठाउन नसक्दा प्रशासनिक प्रक्रिया पूर्ण रूपमा रोकिएको छ।

१२ दिनदेखि निरन्तर सेवा अवरुद्ध हुँदा पालिकाभित्रका सबै प्रशासनिक फाइल, दर्ता, प्रमाणीकरणजस्ता प्रक्रिया रोकिएका छन्।
बासीहरूले दुवै पक्षलाई छिटो सहमति बनाउने आग्रह गर्दै— “समस्या दुवैको हो, तर पीडा स्थानीयवासीले भोगिरहेका छन्”—भन्दै चासो व्यक्त गरेका छन्।

Comment


Related News

Latest News

Trending News