जनकपुरधामको सांस्कृतिक र पहिचानसँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा नेपाली सेनाले बृहत् निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
मधेश प्रदेशको बर्दिबासस्थित नेपाली सेनाको मध्य–पूर्वी पृतना तथा सो अन्तर्गतका युनिटहरूको संयोजनमा सोमबार तीन दिवसीय निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । विवाह पञ्चमीमा सहभागी हुन आएका साधु–सन्त, भक्तजन तथा स्थानीयलाई लक्षित गरी जनकपुरधामको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजन गरिएको शिविरमा विभिन्न प्रकारका स्वास्थ्य सेवा, औषधि वितरण तथा आँखाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया समेत उपलब्ध गराइएको सेनाले जनाएको छ ।
शिविरम ा नेपाली सेनाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँगै स्थानीय सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मीहरूको पनि सक्रिय सहभागिता रहेको छ । नागरिक–सैनिक सम्बन्ध सुदृढीकरणको लक्ष्यसहित सञ्चालन गरिएको यस निशुल्क शिविरमा सेनासँग सम्बन्धित सामाजिक उत्तरदायित्व तथा जनचेतनामूलक गतिविधिबारे जानकारी दिन विभिन्न सूचना एवं फोटो प्रदर्शनीका स्टलहरू पनि राखिएका छन् ।
स्वास्थ्य शिविरको उद्घाटन मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले एक विशेष समारोहबीच गरेका थिए। प्रदेशका मुख्यमन्त्री सरोज यादवले पनि शिविरको अवलोकन गरेका छन् ।
यस वर्ष पनि साताव्यापी विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण मानिने भोलि मंगलबारको स्वयम्बर समारोहको अवसरमा नेपाली सेनाले हेलिकोप्टरमार्फत पुष्पवृष्टि तथा सैनिक बैन्डको विशेष प्रस्तुति प्रस्तुत गर्ने कार्यक्रम रहेको पृतनापति कृष्णबहादुर जीसी जनाएका छन् । यसैबीच मटकोर विधिको क्रमको सो सेना टोलीद्वारा विशेष सुरक्षाको व्यवस्था गरिएको थियो ।
यसका साथै मटकोर भइरहेको बेला गंगा सागरमा डुँगा चलाएर कार्यक्रम दृश्यलाई मनमोहक बनाएको थियो ।



