२०८२ मंसिर १०, बुधबार ०७:२५

भारतको बिहार सरकारले सीतामढी जिल्लामा एउटा थप नयाँ शहर ‘सीतापुर’ भन्ने सैटेलाईट सिटीको निर्माण गर्ने भएको छ ।

सीतामढीमा नयाँ सैटेलाइट सिटी निर्माण भएपछि जिल्लाको भूगोल र अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा बिहार सरकारले गरेको छ । पछिल्लो पटक बिहार विधान सभा निर्वाचनको क्रममा ३१ अक्टोबरका दिन जदयू र बिजेपीसहितका एनडीए गठबन्धनले जारी गरेको २४ बुँदे आफ्नो घोषणा पत्रमै पटना र सीतामढी सहित राज्यमा ११ वटा नयाँ शहर सिटी शहरको निर्माण गर्ने घोषणा गरेको थियो ।

एनडीए गठबन्धनको सरकार बनेपछि सो चुनावी घोषणा पत्रमा उल्लेखित ११ नयाँ सिटी मध्ये सीतामढीको सीतापुरलाई प्रमुखता दिइएको छ । बिहारका शहरी विकास तथा आवास मन्त्री नितिन नवीनका अनुसार भूमि अधिग्रहण र मास्टर प्लानको काम सन् २०२६ देखि सुरु हुनेछ । उनले नयाँ सैटेलाइट शहरहरू पटना मेट्रो रेलसँग जोडिनेछन्, जसले आवागमन सहज बनाउनेछ ।

विशेषगरी सीतामढी क्षेत्रमा विकास हुने नयाँ टाउनसिपलाई “सीतापुर” भन्ने छुट्टै शहर निर्माण गरिने प्रष्ट गरे । नवीनका अनुसार सैटेलाइट शहरहरूमा आवास, उद्योग, आईटी हब र पर्यटन केन्द्र निर्माण गरिनेछ । यसले लाखौँ रोजगारी सिर्जना गर्ने तथा बिहारको शहरीकरणलाई स्मार्ट र व्यवस्थित बनाइनेछ । हाल पुनौराधामलाई सडक र रेलमार्गसँग जोड्ने तयारी तीव्र रूपमा चलिरहेको छ ।

हाल ६७ एकड क्षेत्रफलमा फैलिएको पुनौराधामको क्षेत्रफल अझै बढाइँदै लगिएको छ । बिहार सरकारले सीतापुर नामकरण गरी निर्माण गर्ने सैटेलाइट शहरले जनकपुरधामको पर्यटनमा ठूलो असर पर्न सक्ने आंकलन गर्न थालिएको छ । केही वर्षयता सीतामढीको जानकी मन्दिर र पुनौराधाममा विवाह पञ्चमी महोत्सव मनाउन थालिएपछि यसको प्रभाव जनकपुरधाममा मनाइएको विवाह पञ्चमी महोत्सवमा देखिएको छ ।

सीतापुर नामकरण गरी सैटेलाइट सिटीको रुपमा निर्माणले भविष्यमा जनकपुरधाममा आउने भारतीय तीर्थयात्रीमा कमी आउने हाल भारतीय पर्यटक आवागमनमा आएको कमीले पुष्टि गरेको छ । नेपाल सरकार, मधेश सरकार र स्थानीय तहले यसप्रति ध्यान दिन आवश्यक छ ।

जनकपुरधामको संस्कृति, धार्मिक पहिचानलाई जोगाउन यहाँका मठ मन्दिरहरुलाई विकास र संरक्षण गरिए भने आउने दिनमा जनकपुरधामको विकासमा ठूलो असर पर्न सक्ने जनकपुरधाम ४ का राजीव यादवले बताए ।

Comment


Related News

Latest News

Trending News