साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत अन्तिम दिन रामकलेवा विधिसंगै जन्तीलाई विदाइ गरी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।
सो क्रममा सीताराम विवाहपञ्चमी महोत्सवमा आएका जन्तीलाई जानकी मन्दिरमा ५६ व्यञ्जनका परिकारसहितको भोजन गराइएको थियो । जानकी मन्दिर परिसरमा आयोजित रामकलेवा विधिमा उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जन्तीमा आएका साधुसन्तहरुलाई विशेष भोजन गराउनुका साथै दान– दक्षिणासमेत प्रदान गरेका थिए ।
त्रेता युगमा भगवान रामसहित चारै दाजुभाइको विवाह एकसाथ भएको थियो । जन्तीमा आएका अयोध्याका महराज दशरथ, गुरु पुरोहितलगायतका जन्तीहरुलाई भाँतीभाँतीको गाली दिएर मै थिलानीहरु मनोरञ्जन गरेका थिए । मिथिलाकी नारीको मधुर गाली सुनेर महराज दशरथलगायतका अयोध्यावासीहरु मुग्ध भएका थिए ।
मिथिलाकी युवराज्ञी सीताको विवाह भएपछि पनि लामो समय जन्तीहरु जनकपुरधाममा नै बसेका थिए । विवाहपछि जन्ती बेहुली सीतालाई लिएर अयोध्या प्रस्थान गर्दा राजा जनकले विदाइ गरेका थिए । यता बुधबार राति सीतारामा विवाहको क्रममा जनकपुरधामको रंगभूमि मैदान बाह्रविघामा भागदौड मच्चिदाँ कयौं श्रद्धालुभक्तजनहरु घाइते भएका छन् ।
विवाहपञ्चमी मेला हेर्न जनकपुरधाम आएका भारतलगायत आसपासका क्षेत्रबाट श्रद्धालुभक्तजनहरु रंगभूमि मैदानमा विश्राम गरिरहेका थिए । सुरक्षा व्यवस्था कमजोर रहेको रंगभूमि मैदानमा केही उच्छृंखल चोरहरुले श्रद्धालुहरुको सामान चोरी गरिरहेको स्थानीयवासीले बताए । एक जना श्रद्धालुले चोरी गरिरहेको थाहा पाएपछि भागदौड भएको थियो ।
उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको धनुषा प्रहरीले जनाएको छ । कयौँ श्रद्धालु भक्तजनहरुको सामान चोरी भएको उनीहरुले बताए । जानकी मन्दिरको छत, मन्दिरको परिसर र बाहिरसमेत जानकी मन्दिर व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा स्थानीय प्रहरी प्रशासनको चरम लापरबाहीका कारण विगत वर्षमा पनि बाहिरबाट आएका श्रद्धालु भक्तजनहरुको गरगहना चोरीसंगै विभिन्न खाले असुरक्षाको सामना गर्दै आएको तीर्थालुहरुले आरोप लगाएका छन् ।



