अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ वटा मुलुकका मुलुकका नागरिकलाई प्रदान गरिएका सबै ग्रिन कार्डहरू (स्थायी बसोबास अनुमति)को कडा र व्यापक समीक्षा सुरु गर्न कडा निर्देशन जारी गरेका छन्।
वाशिङ्टन डीसीमा दुई नेशनल गार्ड सदस्यमाथि भएको गोलीकाण्डपछि प्रशासनले ‘चिन्तायुक्त मुलुक’ का आप्रवासिहरुमाथि कडाइलाई नाटकीय रूपमा बलियो बनाउन महत्त्वपूर्ण कदम चालेका हुन्।
युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (युएससिआइएस) का निर्देशक जो एड्लोले बिहीबार ‘एक्स’मार्फत यो कदमको घोषणा गर्दै राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार चिन्ताजनक देशका सबै विदेशी नागरिकलाई जारी भएका हरेक ग्रिन कार्डको पूर्ण र कठोर रुपमा पुनःजाँच सुरु गरिने बताएका हुन्।
कुन-कुन मुलुकलाई ‘चिन्ताजनक’ भनिएको हो भन्ने प्रश्नमा युएससिआइएले सीएनएनलाई जुन महिनामा सार्वजनिक राष्ट्रपति विज्ञप्तिमा सूचीकृत १९ देशलाई आधार मानिएको जानकारी दिएको छ। यी १९ देशहरूमा अफगानिस्तान, बर्मा, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सेरा लिओन, टोगो लगायतका मुलुकहरू समावेश छन्।
अफगानिहरुको आप्रवासन प्रक्रिया अनिश्चितकालका लागि रोक
बुधबार राति गोलीकाण्डका आरोपितको पहिचान अफगान नागरिक रहमानुल्लाह लाकनवालका रूपमा भएपछि ट्रम्प प्रशासनले आप्रवासनमा कठोरता अपनाउँने निर्णय गरेको हो। युएससिआइएसको निरीक्षण गर्ने गृह सुरक्षा मन्त्रालय (डिएचएस) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा स्वीकृत भएका सबै आश्रय केसहरूको पनि समीक्षा भइरहेको जनाएको छ।
डीएचएसकी सहसचिव ट्रिसिया म्याक्लफलिनले सीएनएनलाई दिएको एक वक्तव्यमा भनेकी छन्, ‘आजदेखि, सुरक्षा र भेरिफिकेशन प्रक्रियाको थप समीक्षा पूरा नभएसम्म अफगान नागरिकहरूसँग सम्बन्धित सबै आप्रवासन अनुरोधहरूको प्रक्रिया अनिश्चितकालका लागि रोकिएको छ।’ उनले ट्रम्प प्रशासनले बाइडेन प्रशासन अन्तर्गत स्वीकृत सबै आश्रय केसहरूको पनि समीक्षा गरिरहेको जानकारी दिएकी छिन्।
गोलीकाण्डका आरोपित लाकनवालले अफगानिस्तानमा अमेरिकी सरकार र सीआईएसँग काम गरेका थिए। सन् २०२१ मा बाइडेनको ‘अपरेशन अलाइज वेलकम’ कार्यक्रमअन्तर्गत उनी अमेरिका आएका थिए। उनले २०२४ मा आश्रयका लागि आवेदन दिएका थिए, तर अमेरिकी मिडियाका अनुसार ट्रम्प प्रशासनले नै उनलाई २०२५ अप्रिलमा आश्रय स्वीकृति दिएको थियो। अमेरिकी विदेश मन्त्रालयका अनुसार, सन् २०२१ अगस्टमा अमेरिकी सेना फिर्ता भएदेखि हालसम्म १ लाख ९० हजारभन्दा बढी अफगान नागरिक अमेरिकामा पुनःस्थापित भएका छन्।
फ्लोरिडाको मर-ए-लागो क्लबबाट भिडियो सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले गोलीकाण्डको आरोप बाइडेन प्रशासनलाई लगाएका छन्। उनले भनेका छन्, बाइडेन प्रशासनले देशमा ल्याएका व्यक्तिहरूद्वारा भएको यो आक्रमणले ‘हाम्रो राष्ट्रले सामना गरिरहेको सबैभन्दा ठूलो राष्ट्रिय सुरक्षा खतरा’ लाई उजागर गरेको छ। ट्रम्पले बाइडेनको कार्यकालमा अफगानिस्तानबाट आएका हरेक विदेशी नागरिकको पुनःजाँच गर्नुपर्ने र देशलाई कुनै फाइदा नपुर्याअउने वा यहाँ बस्न योग्य नभएका जुनसुकै देशका विदेशीलाई हटाउन आवश्यक सबै कदम चाल्नुपर्ने बताएका छन्। उनले बाइडेनको कार्यकालमा ‘२० मिलियन अज्ञात र अवैध विदेशीहरु’ अमेरिका प्रवेश गरेको र यसलाई राष्ट्रको अस्तित्वका लागि नै जोखिम रहेको दाबी गरेका छन्।
ट्रम्प प्रशासनको ग्रिन कार्ड पुनःजाँच गर्ने पछिल्लो निर्णय राष्ट्रपति ट्रम्पको लामो समयदेखिको आप्रवासी विरोधी अडानलाइ थप मलजल गरेको छ। ग्रिन कार्डले धारकलाई अमेरिकाको कानूनी स्थायी बासिन्दाको दर्जा दिन्छ। यो शरणार्थी तथा आश्रय कार्यक्रमभन्दा फरक भए पनि, शरणार्थीहरूले अमेरिकामा आएको एक वर्षपछि ग्रिन कार्डका लागि नै आवेदन दिनुपर्दछ, जसलाई ट्रम्प प्रशासनले पहिलेदेखि नै सीमित गर्न खोजेको थियो।


