२०८२ मंसिर १६, मंगलवार ०६:५६

नेकपा एमालेको आसन्न महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रिया महोत्तरीमा विवादित बन्दै गएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आफ्नो गृह क्षेत्र महोत्तरी क्षेत्र नम्बर ४ को प्रतिनिधि छनोटमा मनोमानी गरेको आरोप लागेको छ ।

इतर समूहका नेताहरूले मुख्यमन्त्री यादवको डिजाइन अनुसार निर्वाचन गराएर १९ जना प्रतिनिधि नै उनी निकट केपी ओली पक्षका व्यक्तिहरू विजयी भएको घोषणा गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधि छनोटप्रति असन्तुष्ट एमाले प्रदेश कमिटी सदस्य तथा अनेरास्ववियुवका पूर्व केन्द्रीय सचिव सरोज यादवले निर्वाचन बडो विचित्र ढंगले गरिएको आरोप लगाएका छन् । उनले असन्तुष्टि व्यक्त गर्दै भने ‘दुई प्यानल बनाएर निर्वाचन भएपनि मुख्यमन्त्रीको ठाडो हस्तक्षेपमा हार्ने प्यानलले जम्मा ९४ मत र जित्ने प्यानलले तीन हजार चारसय १४ मत पाएको घोषणा गरिनु भनेको मतपत्रको डिजाइनमा नै बेइमानी गरिएको हो ।’

यति मात्र होइन योग्यता नपुगेकालाई उम्मेदवार कायम राख्नु विधान विपरीत भएको छनौट गरिएको भन्दै सामाजिक सञ्जालमा उनले असन्तुष्टि पोखेका छन् । इतर समूहका नेताहरूले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउँदै मुख्यमन्त्री यादवले आफ्नै काका (राजबिहारी यादव) लाई मतदान अधिकृत तोकेको आरोप लगाएका छन् । ‘उहाँलाई हामीले मतदान निष्पक्ष नभएको भन्यौँ । तर, कुनै सुनुवाइ नगरि मतपत्रका दायाँ तर्फका सबै (१९ जना) प्रनिनिधिमा विजयी भएको घोषणा गरेको छ,’ असन्तुष्ट नेता यादवले भने ।

यसका साथै, महोत्तरी ४ मा रहेका १४ हजार ६ सय ३७ संगठित सदस्यहरूको नामावली फर्जी भएको र जनता आवास कार्यक्रमका लागि संकलन गरिएका नागरिकतालाई पार्टी सदस्य बनाई मतदानमा सहभागी गराइएको जस्ता गम्भीर आरोपहरू समेत लगाइएका छन् । यता, महोत्तरी ४ मा विवादकाबीच प्रतिनिधि छनोटको घोषणा गरिए पनि महोत्तरी क्षेत्र नम्बर १ र २ मा भने प्रतिनिधि छनोटका लागि निर्वाचन चलिरहेको छ ।

महोत्तरी १ मा खुलाबाट ६ जना प्रतिनिधिको लागि १८ जना र महिला सदस्यका लागि ३ कोटामा ५ जनाको उम्मेदवारी परेको छ भने महोत्तरी ३ मा भने प्रतिनिधि चयन सर्वसम्मत भएको जानकारी प्राप्त भएको छ ।

Comment


Related News

Latest News

Trending News