२०८२ मंसिर १६, मंगलवार १७:०५

रौतहटको कटहरिया नगरपालिकामा बजेट स्वीकृत नै नभएको अवस्थामा रकम भुक्तानी गरी सरकारी कोषमा क्षति पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात कर्मचारी र एक गैरसरकारी संस्थाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मामिलामा संलग्न ठहर गरिएकामध्ये तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेक कुमार सहनी, कर्मचारी राम नरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी लगायत रहेका छन्। उनीहरूसँगै काठमाडौंस्थित सरिता फाउण्डेसन र संस्थाकी निर्देशक सरिता कुमारी साह पनि प्रतिवादीको सूचीमा परेका छन्।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा नगरसभाले बजेट अनुमोदन नै नगरेको अवस्थामा सरिता फाउण्डेसनलाई ५ लाख रुपैयाँको चेक काटेर भुक्तानी गरिएको थियो। अनुसन्धानले सो रकम अनियमित ढंगले लिएर/दिएर कुल ९ लाख ९८ हजार ९२१ रुपैयाँ नगरपालिकाको कोषमा क्षति पुगेको प्रमाणित भएको बताइएको छ।

अख्तियारले मुद्दामा सामेल सबै व्यक्तिबाट प्रति व्यक्ति बराबरको ९ लाख ९८ हजार ९२१ रुपैयाँ विगो असुल गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अदालतबाट अब यस प्रकरणको आगामी प्रक्रिया तय हुनेछ।

Comment


Related News

Latest News

Trending News