गत कार्तिकमा परेको बेमौसमी वर्षाका कारण अर्बौको क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी धानवालीमा क्षति भएको छ ।
कार्तिक १५ गतेदेखि १७ गते चार दिनसम्म परेको बेमौसमी वर्षाको कारण मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गरी २० हजार १ हेक्टरको धानवालीलाई क्षति पुगेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाए अनुसार प्रतिवेदन अनुसार दुई अर्ब ६६ करोड ४१ लाख २४ हजार रुपैयाँ बराबरको ७५ हजार ६ सय ७४ मेट्रिक टन धानमा क्षति पुगेको छ । सबैभन्दा बढी कोशी प्रदेशको झापा जिल्लामा ४ हजार ३ सय ६४ हेक्टरमा लगाइएको धानवालीमा क्षति पुगेको जनाइएको छ ।
कोशी प्रदेशमा १२ हजार ४ सय ३२ हेक्टर, मधेश प्रदेशमा ४ सय १६ हेक्टर, बागमती प्रदेशमा ६ हजार ६६ हेक्टर, गण्डकी प्रदेशमा १ सय ९१ हेक्टर र लुम्बिनी प्रदेशमा ८ सय ९६ हेक्टरमा लगाइएको धानवालीमा क्षति पुगेको थियो । त्यस्तै बेमौसमी वर्षाका कारण तरकारीवालीतर्फ २२ करोड २३ लाख ८५ हजार रुपैयाँ मूल्यबराबरको ५ सय ८६ हेक्टरको ६ हजार ८ सय ३६ मेट्रिक टन, केरातर्फ १० लाख रुपैयाँबराबरको १३२ मेट्रिक टन, आलुतर्फ १ करोड ९७ लाख ४४ हजार रुपैयाँबराबरको १ हजार ९ सय ४९ मेट्रिक टन, कोदोतर्फ २ लाख २९ हजार रुपैयाँबराबरको ४५ मेट्रिक टन, दलहनतर्फ १३ लाख ८ हजार रुपैयाँबराबरको १६२ मेट्रिक टन र तेलहनतर्फ २८ लाख २० हजार रुपैयाँबराबरको २ मेट्रिक टन क्षति भएको जनाइएको छ ।
कार्तिकमा परेको बेमौसमी वर्षाका कारण कृषि क्षेत्रमा २ अर्ब ९१ करोड १६ लाख १० हजार रुपैयाँ मूल्यबराबरको क्षति भएको जनाइएको छ । यसअघि असोज महिनामा परेको वर्षाका कारण सबैभन्दा बढी मधेश प्रदेशमा कृषिजन्य बालीमा क्षति पुगेको छ ।
असोजमा परेको अविरल वर्षाका कारण आएको बाढी र डुवानले गर्दा कृषि क्षेत्रमा ३ अर्ब ५५ करोड ८७ लाख रुपैयाँबराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । खाद्यान्न वाली अन्तर्गतको धान, मकै, कोदो र तरकारीवालीहरुतर्फ ३ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ, पशुपन्छी तथा माछातर्फ १४ करोड ९० लाख ५२ हजार, कृषि पूर्वाधारतर्फ ४ करोड ४५ लाख ९५ हजार तथा बीउ बिजनतर्फ २ करोड ७९ लाख ४४ हजार रुपैयाँ मूल्यबराबरको क्षति भएको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए । गत असोजमा परेको वर्षा पछि आएको बाढी र डुवानका कारण सबैभन्दा बढी मधेश प्रदेशमा कृषिजन्य बालीमा क्षति पुगेको छ ।
मधेश प्रदेशमा मात्रै २ अर्ब ९८ करोड रुपैयाँ मूल्य बराबरको ९ हजार १ सय ८६ हेक्टर जग्गामा भएको खाद्यान्न, तरकारी, फलफूल, उखुलगायत गरी ९९ हजार ८ सय ३३ मेट्रिक टन क्षति भएको जनाइएको छ । मधेश प्रदेशमा पशुपन्छी तथा माछातर्फ पनि अत्यधिक क्षति भएको जनाइएको छ । १२ करोड ९४ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको ३८ हजार गोटा पशुपन्छी तथा माछा नष्ट भएका छन् ।
त्यस्तै दोश्रोमा कोशी प्रदेशमा ३४ करोड २४ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ४ सय १४ हेक्टरको ६ हजार २ सय ३५ मेट्रिक टन खाद्यान्न वाली नष्ट भएको छ । त्यसैगरी पशुपन्छी तथा माछातर्फ भने १ करोड ८० लाख १८ हजार रुपैयाँबराबरको ७ हजार ३ सय गोटा नष्ट भएको थियो । त्यस्तै बागमती प्रदेशमा १ करोड २४ लाख ६३ हजार रुपैयाँबराबरको ८७ हेक्टरको १ सय ४३ मेट्रिक टन खाद्यान्न बाली क्षति भएको थियो । यो प्रदेशमा १५ लाख ५२ हजार रुपैयाँबराबरको २२३ वटा पशुपन्छी र माछा नष्ट भएको थियो ।
गण्डकी प्रदेशमा १२ लाख ८० हजार रुपैयाँबराबरको १ हजार हेक्टरको ९ मेट्रिक टन खाद्यान्न क्षति भएको थियो । यो प्रदेशमा १४ करोड ९० लाख ५२ हजार रुपैयाँबराबरको ४५ हजार ६४० वटा पशुपन्छी र माछा नष्ट भएको थियो । पशुपन्छी तथा माछातर्फ सबैभन्दा ठूलो क्षति गण्डकी प्रदेशमा भएको छ ।
अघिल्लो वर्ष असोज १० गतेदेखि परेको अविरल वर्षा पश्चात् बाढी र डुवानका कारण पनि कृषि क्षेत्रमा ठूलो मात्रामा क्षति पुगेको थियो । ३ अर्ब ५० करोड रुपैयाा मूल्य बराबरको ५८ हजार ४ सय ७६ हेक्टरको धानवाली नष्ट भएको थियो । त्यस्तै ७० करोड रुपैयाँबराबरको १ हजार ३ सय हेक्टरको अलैंची नष्ट भएको थियो ।
३४ करोड रुपैयाँबराबरको ८५ हेक्टरको उखुवाली, १ अर्ब १३ करोड रुपैयाँबराबरको ४५८ हेक्टरमा रहेको पोखरीको माछा, १६ करोड रुपैयाँबराबरको भौतिक पूर्वाधार, २५ पशु गोठ नष्ट भएको थियो । त्यस्तै २२ हेक्टरको फलफूल बगैचा, ४ हजार ७ सय ४३ हेक्टरको तरकारीवाली र दुई वटा कोल्डस्टोरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।


