“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन” मूल नारासहित जनकपुरधाममा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ ।
लाईफ नेपाल, अपाङ्गता समाज जनकपुरधाम र नेपाल अपाङ्ग समाज मधेश प्रदेशको आयोजनामा भएको प्रभात फेरि कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू सहभागी रहनुभएको थियो । जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानबाट बाजागाजासहित शुरु भएको प्रभात र्याली नगरको विभिन्न भागको परिक्रमा गरी जनकपुर रेल्वे स्टेसनमा पुगेर सम्पन्न भएको थियो ।
अष्ट्रेलियन एड, सिविएम ग्लोबल, वर्ल्ड भिजन सहितका संस्थाहरूको सहयोगमा भएको कार्यक्रममा अपाङ्गता भएकाहरूलाई विभिन्न प्रकारका सहयोगी सामाग्रीहरू वितरण गरिएको छ । त्यस अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले अपाङ्गता भएकाहरूलाई ह्वील चीयर, ड्राई साइकल, वैशाखी तथा छडी वितरण गर्नुभयो ।
कार्यक्रममा साहभागीहरुले तीनै तहका सरकारले नयाँ संरचनाको निर्माण गर्दा अपाङ्गतामैत्री संरचनाको निर्माण हुनुपर्ने र पुराना संरचनाहरूको मरम्मत वा पुर्ननिर्माण गर्दा अपाङ्गमैत्री बनाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले अपाङ्गता भएकाहरूको वर्गीकरण तथा परिचयपत्र वितरणमा गर्ने काम गर्दै आएको तर ठोस काम गर्न नसकेको स्वीकार गर्नुभयो ।
कार्यक्रममा आयोजित हाजिरी जवाफ प्रतियोगितामा विजयीहरूलाई पुरस्कृत गरिएको थियो । अपाङ्ग समाज जनकपुरधामका अध्यक्ष शत्रुधनलाल कर्णको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजका प्रदेश अध्यक्ष किरण पासवानले मधेश प्रदेशमा ९० हजार ४ सय अपाङ्गता भएका व्यक्तिमध्ये ४१ प्रतिशत महिला र ५९ प्रतिशत पुरुष रहेको जानकारी दिनुभयो ।



