भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका बाराको जीतपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीले सर्वोच्च अदालतको कागजपत्र किर्ते बनाइ सफाइ पाएको दाबी गर्दै पद पुनर्बहालीका लागि माग गरेका छन् ।
भ्रष्टाचार मुद्दामा निलम्बित कार्कीले गत बुधबार सर्वोच्च अदालतबाट सफाइ पाएको भन्दै पुनर्बहालीका लागि उपमहानगरमा लिखित निवेदन दिएका थिए । उनले बुझाएको निवेदनसहितको कागजपत्रमाथि उपमहानगरले सर्वोच्च अदालतलाई सफाइ पाए/नपाएको सम्बन्धमा जवाफ माग गरेपछि सर्वोच्चको फैसला किर्ते भएको प्रमाणित भएको जनाइएको छ । ‘उपरोक्त सम्बन्धमा पुनरावेदकरनिवेदक ताराबहादुर कार्की र विपक्षी नेपाल सरकार भएको घुस मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर प्रतिवादी कार्कीले दायर गरेको मुद्दा हाल चालु अवस्थामा रहेको र नियमित पेसीमा भएकोले फैसलासमेत नभएको व्यहोरा जानकारी गराइन्छ ।’ सर्वोच्च अदालतले उपमहानगरलाई पठाएको पत्रमा भनिएको छ ।
कार्कीको मुद्दामा भदौँ २३ र २४ गते भएको ‘जेन– जी आन्दोलन’को क्रममा कागजपत्र जलेर नष्ट भएको पछिल्लो सर्वोच्चको पेशीमा उल्लेख गरिएको छ । उपमहानगरले आन्दोलनमा कागजपत्र जलेको मौका छोपेर वडाध्यक्ष कार्कीले सफाइ पाएको किर्ते फैसला बनाएर ल्याएको उल्लेख गरिएको छ ।
कार्कीले सर्वोच्चको लेटर प्याड र छाप किर्ते गरेर सफाइ पाएको फैसलामा सर्वोच्चका शाखा अधिकृत योगेन्द्र पराजुलीको हस्ताक्षर रहेको देखिएको छ । कार्की २०८१ माघ १० गते विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका थिए । जीतपुर सिमरा उपमहानगरपालिकाले सर्वोच्चको कागजपत्र किर्ते गर्ने निलम्बित वडाध्यक्ष ताराबहादुर कार्कीलाई कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको छ ।
जीतपुर सिमरा उपमहानगरका प्रमुख राजन पौडेलले सर्वोच्चको कागजपत्र किर्ते भएको अदालतले नै प्रमाणित गरिसकेकाले कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको बताए ।


