मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
यादवलाई सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । उनलाई प्रदेश प्रमुख डा. कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका छन् ।
नेता यादवले ७७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका थिए । नवनियुक्त मुख्यमन्त्री यादवले कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थनमा उनी मुख्यमन्त्री बनेका छन् ।
नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशको बेथिति हटाउने आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । मुख्यमन्त्री यादवले भने, ‘अब हाम्रो योजना भनेको प्रदेश बेथितिमा रहेको छ, पहिलो काम थितिमा ल्याउने हो’, उनले भने, ‘सुशासन कायम गर्ने हो ।’ उनले मधेश प्रदेश गरिबी र अशिक्षाबाट गुज्रिरहेकाले रोजगारी र शिक्षाका लागिसमेत आफूले काम थाल्ने बताए ।
यसअघि मन्त्रालय विस्तारसंगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को पूर्णतापछि चरणबद्ध रुपमा मधेश प्रदेशको विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । सात दलीय गठबन्धनले कांग्रेस नेतृत्वमा सरकार बनाए लगत्तै पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले कांग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई बधाई दिएका छन् ।
पूर्वमुख्यमन्त्री सोनलले आफ्नो सामाजिक सञ्जाल अन्तर्गतको फेसबुक पेजमा स्टाटस लेख्दै, मधेश सरकारको कमाण्ड सम्हालेको कांग्रेस दलका नेता यादवलाई शुभकामना व्यक्त गरेका छन् । उनले संविधानको दायराभित्र सहमति र समन्वयमा अघि बढ्ने रणनीतिलाई स्वागतयोग्य गरेका छन् ।
यसअघि सात दलबीचको लामो छलफलपछि कांग्रेस नेतृत्वमा सरकार गठनको सहमति जुटेको थियो ।
नवनियुक्त मुख्यमन्त्री यादवको राजनीतिक यात्रा
रौतहटको गढीमाई नगरपालिका–८ स्थित बरियारपुरमा २०२४ भदौँ ९ गते जन्मिएका कृष्णप्रसाद यादव राजनीतिक पृष्ठभूमि बोकेको परिवारबाट प्रतिनिधित्व गर्छन् ।
२०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आएका यादवको जन्मथलो गाउँ बरियारपुर हो । उनका बुवा रामचन्द्र यादव राजनीतिज्ञ हुन् । रामचन्द्र २०५४ सालमा कांग्रेसबाट बरियारपुर गाविस अध्यक्षमा चुनाव जितेका थिए । उनले बुवाबाट प्रभावित भएर राजनीति यात्रा आरम्भ गरे । उनी २०६४ सालमा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।
२०६७ सालदेखि निरन्तर रुपमा दुई पटक नेपाली कांग्रेस रौतहटको जिल्ला सभापति भइसकेका छन् । त्यसपछि उनी मधेश प्रदेश कांग्रेस सभापति बनेका छन् । २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनी क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित भए । नवनियुक्त मुख्यमन्त्री यादव कृषिमा स्नातक गरेका छन् ।
गत पुस १४ गतेमा कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता पदमा यादव चुनिए । मधेश प्रदेशको अघिल्लो सरकारमा कांग्रेसको समर्थन फिर्ता लिने निर्णयमा पनि उनले सांसद र पार्टी नेता दुवैको हैसियतमा भूमिका खेलेका थिए । मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारको पालामा उनी भौतिक मन्त्रीसमेत भइसकेका छन् ।


