आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशवादी दलहरूको स्वार्थकै कारण मधेश पछाडि पर्नुको मुख्य कारण भएको आरोप लगाएका छन् ।
बर्दिवासमा शुक्रबार आयोजित आजपा महोत्तरी–१ को क्षेत्रीय भेलामा बोल्दै उनले मधेशवादी दलहरू सत्ता–खेलमा रमाउँदा मधेश बदनाम र उजाड हुँदै गएको दाबी गरे । अध्यक्ष साहका अनुसार मधेसवादी दलहरू जनताको समस्या समाधानभन्दा मुख्यमन्त्री बनाउने, सरकार बनाउने–गिराउने दाउपेचमै सीमित छन् ।
“मधेसलाई उजाड बनाउनेहरूले समृद्ध बनाउने योजना ल्याउनु पर्ने हो, तर यिनीहरू सत्ता र कुर्सीको खेलमा मात्रै तल्लीन छन्,” साहको आरोप थियो । ‘समृद्ध मधेशको सपना, मधेशवादी दलसँग इच्छाशक्ति नै छैन’ साहले मधेशको समृद्धिका लागि कुनै ठोस योजना वा दीर्घकालीन दृष्टि मधेशवादी दलहरूमा नदेखिएको बताए । उनले मानव विकास सूचांकमा मधेश सबैभन्दा पछाडि रहे पनि संघीय सरकारदेखि प्रदेशसम्म सत्ता चलाउनेहरू बेपरवाह बनेको उल्लेख गरे ।
“मधेशवादी दलहरूको विगत र वर्तमान स्पष्ट छ— सत्ता प्रवेश र सत्तामा रमाउनुबाहेक तिनको अर्को उपलब्धि छैन,” उनले कटाक्ष गरे । उनका अनुसार नेतृत्व सही नभएकै कारण मधेसका जनता निराश, पिछडिएका र अवसरविहीन बन्न बाध्य भएका छन् ।
जनताको मुद्दा छोडेर सत्तासँग सम्झौता मात्रै साहले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायतका मूल समस्यामा मधेशवादी दलहरू मौन बसेको आरोप पनि दोहो¥याए । उनको भनाइ अनुसार मधेशका वास्तविक मुद्दा छोडेर सत्तासँग जे–जस्तो सम्झौता गर्दा पनि सरकार प्रवेश गर्ने तर काम नगर्ने प्रवृत्तिले मधेस कंगाल बन्दै गएको छ । उनले आगामी निर्वाचनमा मधेशका जनतालाई गम्भीर भएर मतदान गर्न आग्रह गर्दै मधेशलाई थप उजाड हुन नदिन जागरूक बन्नुपर्ने बताए ।


