नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमीकरण अन्य प्रदेशमा पनि देखिन सक्ने बताएका छन् ।
जनकपुरधाममा शनिबार आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा बोल्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको भन्दै मधेशबाट शुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा देखिने दाबी गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक प्रचण्डले मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेन– जी आन्दोलनले सबैलाई आत्मसमीक्षा गर्दै शुद्धीकरणका लागि नयाँ अवसर दिएको बताए । जने– जी आन्दोलनपछि नयाँ ढंगले रुपान्तरणका साथै मुलुकको विकासमा लाग्न बृहत एकता गरिएको उनले बताए ।
संयोजक प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउन सकिने बताए । उनले यसको नेतृत्व नेकपाले गर्ने दाबी गरे । एमालेभित्र रहेका वामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिष्ट पार्टीहरुलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने बताउँदै उनले मधेश प्रदेशका महत्वपूर्ण विकास आयोजनाहरु कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले शुरु गरेकाले त्यसलाई निष्कर्षमा पु¥याउने काम पनि कम्युनिष्ट सरकारले नै गर्ने जिकिर गरे ।
त्यस्तै नेकपाका सहसंयोजक माधवकुमार नेपालले जेन– जी पुस्ताले पनि नेकपामाथि विश्वास गरेको दाबी गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका सहसंयोजक नेपालले एसिड पीडित मुस्कान खातुन जस्ता युवा नेकपामा आएको र अझै थुप्रै जेन– जी पुस्ताका नेताहरू पार्टीमा जोडिएको बताए । उनले देशभर जेन– जी युवाको आकर्षण नेकपाप्रति बढेको दाबी गर्दै नेपाली जनताको अधिकार पूरा गराउन नेकपा अगाडि बढिसकेको बताए । सहसंयोजक नेपालले जेन– जी पुस्ताको माग जायज भएको र ती मागहरू पूरा गराउन नेकपा निर्माण भएको बताए ।
उनले नेपाललाई समृद्ध बनाउन सबै एकीकृत हुनुपर्ने कुरामा जोड दिए । सहसंयोजक नेपालले सिरहा र जनकपुरधाम आफ्नो मामाघर रहेको बताउँदै धनुषा जिल्लाको गाउँगाउँबारे आफूलाई जानकारी रहेको बताए । नेपालले नेकपाले मधेशको मुक्तिका लागि संघर्ष गर्दैछ र यसले नै मुक्ति दिलाउने विश्वास गर्न आग्रह गरे । उनले ज्येष्ठ नागरिक, दलित र मुस्लिमका लागि आवाज उठाउने पार्टी आफूहरूको पार्टी रहेको बताउँदै जनकपुरको इज्जतका लागि आफ्नो पार्टीले काम गरेको बताए । उनले कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपरोस्, सबैले शिक्षा, स्वास्थ्य र रोजगार पाउन् भन्ने उद्देश्यका साथ कम्युनिष्ट पार्टीहरू एकीकृत भएको दाबी गर्दै नेकपाप्रति नेपालीहरूको आकर्षण बढेको बताए ।
त्यसैगरी नेकपाका नेता झलनाथ खनालले समाजवाद स्थापनाका लागि सबै कम्युनिस्ट एकैठाउँमा आउनुपर्ने बताए । २०६२/०६३ मा भएको जनआन्दोलन पूँजीवादी आन्दोलन भएको र त्यो आन्दोलनले मजदुर र श्रमिकको अधिकार सुनिश्चत गर्न नसकेको उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले देशमा जति आन्दोलन भए पनि उत्पीडित जनसमुदायमाथि विभेद नहटेको उनले बताए ।
पूँजीवादी लोकतन्त्र विश्वमै थोत्रो भइसकेकाले नेकपा समाजवादी लोकतन्त्रका लागि अगाडि बढिसकेको उनको भनाइ थियो । त्यसका लागि देशका सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकता गर्न आफूहरू लागेको नेता खनालले बताए । उनले देशमा सबै कम्युनिस्ट पार्टी एक नभएसम्म यो देश स्वर्ग बन्न नसक्ने पनि दाबी गरे ।
त्यस्तै नेकपाका नेता नारायणकाजी श्रेष्ठले मधेशी जनताको अधिकार सुनिश्चित गर्न मधेशवादी दलहरू सक्षम नरहेको दाबी गरे । नेकपाले मात्र मधेसीको अधिकार सम्पन्न गर्न सक्ने उनले बताए । पूर्वउपप्रधानमन्त्री श्रेष्ठले देशका सम्पूर्ण कम्युनिस्ट शक्तिलाई एकताबद्ध हुन पनि आह्वान गरे । उनले वर्तमान एकता केवल प्रस्थान बिन्दु भएको र सबै कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको स्पष्ट पारे । उनले आसन्न चुनावमा विजय हासिल गर्न यो संकल्प लिने बेला आएको पनि उल्लेख गरे ।
नेपालको सम्पूर्ण कम्युनिस्टलाई एकता गर्ने यो महत्वपूर्ण प्रस्थान बिन्दु भएको उनको भनाइ थियो । जनकपुरधाममा भएको एकता सन्देशसभामा नेता, कार्यकर्तासहित आमजनको उल्लेख्य सहभागिता रहेको थियो ।


