राजर्षि जनक विश्वविद्यालय विश्वविद्यालयमा प्रवेश परीक्षा सञ्चालन सम्बन्धी विवाद चर्किएपछि विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
विभिन्न विद्यार्थी संगठनहरूले शान्तिपूर्ण समाधान खोज्नका लागि माग गरेका छन् । विश्वविद्यालयमा मंसिर १५ गतेदेखि शुरु भएको विरोध निरन्तर जारी रहेपछि विवाद थप संवेदनशील बनेको छन् ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रवेश यादवले कुनै सूचना सार्वजनिक नगरी नयाँ विद्यार्थीको प्रवेश परीक्षा लिएको आरोप लगाउँदै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तर १७ मंसिरमा रजिस्ट्रार प्रा. डा. सत्यनारायण साहले सञ्चारमाध्यमलाई दिएको प्रतिक्रियामा क्याम्पस प्रमुखले केन्द्रीय कार्यालयको निर्देशनअनुसार रिक्त सिटका लागि प्रवेश परीक्षा सञ्चालन गरेको स्पष्टिकरण दिँदै आरोप असत्य भएको जनाएका छन् ।
यस स्पष्टीकरणपछि विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त विज्ञप्तिमा क्याम्पस प्रशासनको काम निर्देशानुसार भएको भन्दै व्यक्तिगत मनोमानीको आरोप निराधार रहेको उल्लेख गरिएको छ । उक्त विज्ञप्तिले विवाद समाधानका लागि भावनात्मक प्रतिक्रिया र तालाबन्दी नभइ तथ्य र प्रक्रियामा आधारित छलफल नै उपयुक्त बाटो भएको बताएको छ ।
संगठनहरूले सभापति यादवलाई क्याम्पस प्रमुखको कार्यकक्षमा गरिएको तालाबन्दी तत्काल खोल्न आग्रह गर्दै उपकुलपति, रजिस्ट्रार, क्याम्पस प्रमुख, विद्यार्थी संघ र सरोकारवालाहरूसहितको सर्वदलीय छलफल तुरुन्त बोलाउन विश्वविद्यालय प्रशासनलाई अनुरोध गरेका छन् । ‘विद्यार्थीहरूको चासो महत्वपूर्ण छ, प्रशासनको जिम्मेवारी संवैधानिक छ । दुवै पक्षले सहयोग र संयम अपनाए मात्र शैक्षिक वातावरण सामान्य अवस्थामा फर्किन्छ,’ संयुक्त धारणा पत्रमा उल्लेख छ ।


