रौतहटमा जेन्जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा गत भदौ २४ गते भएको ठूलो तोडफोड र आगजनी घटनामा संलग्न ३० वर्षिय बिँकी पाण्डे पक्राउ परेका हुन्। उनलाई रौतहट जिल्ला अदालत गौरबाट अनुमति लिएर गत १८ गते राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए।
यसअघि बुधबार साँझ सोही घटनामा संलग्न दुईजना – चन्द्रपुर–४ का दीपक बस्नेत (३२) र वडा–८ का हरिनारायण चौधरी (४३) – लाई पक्राउ गरिएको थियो। ती सबैलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनै जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको छ। अदालतबाट म्याद थप गरी उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रवक्ता बस्यालले बताए।
जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा सिडिओ दिनेश सागर भुषालका अनुसार जेन्जी आन्दोलनका नाममा गम्भीर घटनामा संलग्न जो कोहीलाई समेत छाडिने छैन। गृह मन्त्रालयले नै दोषीलाई पहिचान गरी कडाइका साथ कारबाही गर्न निर्देशन दिइसकेको उनले बताए। रौतहटमा भएका अन्य घटनाहरूको पनि प्रहरी सूक्ष्मरूपमा अनुसन्धान भइरहेको सिडिओ भुषालले जनकपुर टुडेसँग बताएका छन्।
गत भदौ २४ गतेको जेन्जी आन्दोलनका समयमा गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरिया, फतुवा–बिजयपुर, मौलापुरलगायत क्षेत्रमा गरिएको तोडफोड, आगजनी तथा लुटपाटबाट करिब २० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।



