मुख्यन्यायाधिवक्ता डा. सुरेन्द्र महतोलाई पदमुक्त गरिएको छ ।
प्रदेश प्रमुखको कार्यालयबाट जारी पत्र अनुसार डा. महतोलाई नेपाल संविधानको धारा १६० को उपधारा (४)(क) बमोजिम मंसिर २१ गतेदेखि कार्यान्वयन हुने गरी पदमुक्त गरिएको छ ।
नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा उनलाई पदमुक्त गरिएको छ । यसअघि डा. महतोले पूर्वमुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति चुनौती दिँदै दर्ता गरिएको रिटमा प्रदेश सरकारको पक्षमा सर्वोच्च अदालतमा बहस गरेका थिए ।
जनमत पार्टीका सांसद सतीशकुमार सिंह मुख्यमन्त्री बनेपछि वीरेन्द्र ठाकुरले मुख्यन्यायाधिवक्ता पदबाट तत्कालै राजीनामा दिएपछि मुख्यन्यायाधिवक्तामा महतोलाई नियुक्त गरिएको थियो । सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि लोसपा नेपालबाट सांसद जितेन्द्रप्रसाद सोनल र त्यसपछि नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए ।
त्यतिबेलासम्म उनी मुख्यन्यायाधिवक्तामा पदासीन थिए । तर नयाँ सत्ता समीकरणसंगै कानुनी सल्लाहकारको भूमिकाबाट स्वेच्छिक राजीनामा नदिएपछि महतोलाई नवमुख्यमन्त्री यादवले पहिलो निर्णयमै पदमुक्त गरेका छन् ।



