गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका साथै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न समेत सरकारको ध्यान केन्द्रीत भएको बताउनुभएको छ ।
सोमबार ललितपुरमा सुरु भएको १७ औँ राष्ट्रिय मानवअधिकार महाभेलाको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले अहिलेको सरकारको निर्वाचन गर्ने मुख्य दायित्व भएपनि मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न समेत ध्यान केन्द्रीत भएको बताउनुभएको हो ।
नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन सवैले सहयोग गर्न उहाले आग्रह गर्नुभयो । उहाले जेनजी आन्दोलनको अपेक्षा सुशासन र भ्रष्टाचारमुक्त खुला समाज भएकाले हिंसालाई निरुत्साहित गर्दै युवाहरुको आशालाई पुरा गर्ने प्रयास गरिहरको बताउनुभयो ।
उहाँले मानवअधिकार आयोग लगाएतका सवैधानिक आयोगहरुको सिफारिस कार्यान्वयन नभएको विषयमा सरकारले गम्भीर रुपमा लिएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुराएर सवैको मानवअधिकारलाई सुनिश्चित गरि अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उहाले बताउनुभयो ।
त्यस्तै मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सुशासन कायम नभएसम्म मानवअधिकारको रक्षा नहुने भन्दै उहाले भ्रष्टाचार मौलाउँदा मानवअधिकार ओझेलमा पर्नेतर्फ सवैले ध्यान दिनुपर्ने बताउनुभयो ।
मंसिर २८ गतेसम्म चल्ने महाभेलामा बिभिन्न १२५ वटा मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत संघसंसस्थाहरुको सहभागीता रहेको छ ।


