जनकपुरधाममा दर्ता बिनानै मापदण्ड विपरीत दूध डेरीहरू सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले सोमवार दूधको शुद्धता र गुणस्तर जाँचका लागि सुरू गरेको अनुगमनको क्रममा दूध बिक्रीवितरणका लागि खोलिएका डेरीहरू दर्ता विनानै मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको हो ।
उपभोक्तालाई शुद्ध र सुरक्षित दूध उपलब्ध गराउने उद्देश्यका साथ थालिएको अनुगमनको पहिलो दिनमै जनकुरधाम उपमहानगरपालिका भित्र रहेको राजीव डेरी देशी दूध घर, आदेश दूध बिक्री केन्द्र, दूध डेरी, गंगा देवी दूध डेरी फर्म लगायतका डेरीहरु दर्ता विनानै खुला दूध र दुग्ध जन्य सामग्री बिक्रीवितरण गर्दै आएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रवीण तिवारीले बताएका छन् ।
मापदण्ड पूरा गरी एक महिना भित्र दर्ता गराउन भनिएको र त्यसो नगरेमा कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने सचेत गराई तत्कालका लागि छाडिएको तिवारीले बताए । उनका अनुसार उपभोक्ता स्वास्थ्यलाई प्राथमिकतामा राखी दूध तथा डेरी उत्पादनको शुद्धता सुनिश्चित गर्न दुधको स्वच्छता, मिठापन, फ्याट स्तर, पानी मिसावट तथा गुणस्तर मापदण्ड पूरा भए–नभएको विषयमा विस्तृत परीक्षण गरिएको छ ।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका रमेश दाहाल, प्रवीण कुमार तिवारी, प्रदीप संग्रोला, जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष परमेश्वर साह, जिल्ला प्रशासन कार्यालयका नासु सुनिल झा र पशु सेवा विज्ञ केन्द्रका विनोद पाण्डे लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



