२०८२ मंसिर २३, मंगलवार १७:०५

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता भएको छ।

विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ र अन्य केही  सांसदका तर्फबाट वारेस रहेका श्रवणकुमार श्रेष्ठले आइतबार सर्वोच्चमा रिट दिएका थिए।

उक्त रिटलाई सर्वोच्चले आज दर्ता गर्दै पेसी समेत तोकेको छ। पुस २ गते बुधबार सर्वोच्चको संवैधानिक इजलासमा यसको सुनुवाइ हुनेछ। प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि नै दर्जनभन्दा बढी रिट परिसकेका छन्।

कांग्रेसले दायर गरेको रिटमा संसद्को सबै भन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउने प्रक्रिया सुरु गर्न र प्रतिनिधि सभा विघटन बदर गरि भदौ २४ कै अवस्थामा पुर्‍याउन माग गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको जिकिर गर्दै कांग्रेसले रिटमा उक्त सरकारले प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिस पनि संविधान विपरित रहेको बताएको छ।

प्रतिनिधिसभा विघटनको निर्णय  बदर गर्दै  २०८२ भाद्र २४ गते गतेकै स्थिति कायम हुने परमादेशको जारी गर्न समेत कांग्रेसले माग गरेको छ।

Comment


Related News

Latest News

Trending News