२०८२ मंसिर २४, बुधबार १८:२३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको र बढुवा समेत लिएको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सब-इन्जिनियर शिव नारायण मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट हाईस्कुल तह प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनी नक्कली लब्धांक पत्र र मडैया बलुवा उच्च विद्यालयको नक्कली ‘स्कुल लिभिङ सर्टिफिकेट’ पेस गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

आयोगकाअनुसार उनले सोही नक्कली प्रमाणपत्रका आधारमा जिल्ला विकास समितिको कार्यालय, सुनसरीमा मिति २०५३ साउन १ गते सहायक सब–ओभरसियर (रा.प.अनं. द्वितीय सरह) पदमा स्थायी नियुक्ति लिएका थिए। त्यसपछि मिति २०६७ माघ ७ गते उनी सहायक इन्जिनियर पदमा बढुवा समेत भएका थिए।

नक्कली प्रमाणपत्र पेस गरेर सरकारी ओहोदा, तलब, भत्ता तथा अन्य सुविधा लिएको पुष्टि भएपछि आयोगले मण्डलविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाहरु बमोजिम कैद र जरिवानाको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

Comment


Related News

Latest News

Trending News