२०८२ मंसिर २५, बिहीबार ०७:३३

महन्थ ठाकुरको साथ छाडेका दुईजना नेता फेरि उनीसंगै चुनावमा जाने निर्णय गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनता प्रगतिशील पार्टी(जप्रपा) र तराई–मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) एकीकृत हुने निर्णय गरेको बुधबार जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, जप्रपाका अध्यक्ष हृदयेश त्रिपाठी र तमलोपाका अध्यक्ष वृशेषचन्द्र लालले तीनै पार्टी एकजुट भइ एकीकृत हुने निर्णय गरिएको बताएका छन् ।

देशमा हाल विकसित परिस्थितिको निकास र भ्रष्टाचार तथा बेथितिको अन्त्य गर्दै विधिको पूर्ण सुशासन कायम गर्न ताजा जनादेशको लागि निर्वाचन नै एकमात्र विकल्प भएको ठहर तीन दलले गरेको छ । जारी संयुक्त विज्ञप्तिमा वास्तविक राष्ट्रिय एकताको मजबुती र सम्वद्र्धनको एकमात्र बाटो समान नागरिक अधिकार, राज्यका हरेक अंगमा समानुपातिक समावेशीता र विविधताको सम्मानको सुनिश्चितता नै भएको तथा सो दिशामा अगाडि बढ्न संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध सिमान्तीकरणमा पारिएकाहरुको बृहत्त राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल, जनता प्रगतिशील पार्टी (जप्रपा) र तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) एकजुट भइ एकीकृत हुने निर्णय गरेको उल्लेख रहेको छ ।

मधेश, थरुहट, आदिवासी जनजाती, दलित, मुस्लिमलगायत सिमान्तीकरणमा पारिएकाहरुको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तिहरुसँग यस अभियानमा सहभागी हुन विज्ञप्ति मार्फत अपील गरिएको छ । ठाकुर नेतृत्वमा गठन भएको राष्ट्रिय जनता पार्टी(राजपा) को बेला हृदयेश त्रिपाठी र त्यसपछि वृशेषचन्द्र लाल, डा.विजय कुमार सिंहले पार्टी छाडेका थिए । राजपा गठन भएको बेला मर्ज भएको नेपाल सद् भावना पार्टीका अध्यक्ष अनिल झा अध्यक्ष मण्डलमा पुगेको र त्रिपाठी उपाध्यक्ष रहने प्रोटोकल बनेपछि त्रिपाठीले पार्टी छाडेर नेकपा एमालेको चुनाव चिन्ह सुर्यबाट संसदीय निर्वाचन लडेका थिए ।

वृशेषचन्द्र लाल र डा. विजय कुमार सिंहले अध्यक्ष ठाकुरको मनपरी निर्णयहरुबाट असन्तुष्ट भएर साथ छाडेका थिए ।लाल र सिंह मिलेर तमलोपा गठन गरेका थिए । उनीहरुले तमलोपाबाट स्थानीय, प्रादेशिक र संसदीय चुनाव लडेका थिए । लोसपाले मंसिर ७ गते घर फर्किन आह्वान गर्दै सार्वजनिक आह्वान गरेको थियो ।

लोपाका अध्यक्ष ठाकुरले विगतमा एउटै लक्ष्य, एउटै दृष्टिकोण, हुँदाहुँदै पनि विभिन्न कालखण्डमा तत्कालीन परिस्थितिवश अलग भएका शक्ति र व्यक्ति आजको चुनौतीपूर्ण स्थितिमा पुनः एकजुट भइ अगाडि बढ्नु पर्ने समयको माग भएको उल्लेख गरी विज्ञप्ति जारी गरेको थियो । एकीकृत पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल रहने र ठाकुर नै अध्यक्ष रहने बताइएको छ । पार्टी सञ्चालनका लागि अध्यक्ष समेतको शक्तिशाली कार्य सम्पादन समिति रहने र त्यसको मुनी राजनीतिक समिति रहनेमा सहमति भएको तमलोपाका अध्यक्ष वृशेषचन्द्र लालले जनाएका छन् ।

तराई– मधेशमा छरिएर रहेका दलहरुबीच एकीकृत, एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने आवश्यकता महसुस गरी धमाधम निर्णय गर्न थालेको छ । मधेशी दलहरुबीचको सम्बन्ध सुधार गर्न विवशता भए पनि भित्री स्वार्थ नमिल्ने बताइन्छ । विगतमा पनि कार्यगत एकता, एकीकृत भएका दलहरु फेरि विभाजित भएर अलग्गिएका थिए । राजेन्द्र महतो र महन्थ ठाकुर नेतृत्वको पार्टीले एकीकरण र कार्यगत एकतामा जोड दिएर अगाडि बढेको छ । तर जनता समाजवादी पार्टी(जसपा) नेपाल र जनमत पार्टी एकीकरणका लागि हतारमा भने देखिएको छैन ।

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले चुनावमा एक्लै जाने धारणा व्यक्त गर्दै आए पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेकाहरुलाई घर फर्किन आह्वान गरेका छन् । तर त्यो प्रभावकारी हुन सकेन । मधेशी नेताहरुले गरेको एकता दीर्घकालीन नदेखिएको बताउँदै आलोचना पनि हुन थालेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाको प्रभावलाई न्यून गर्न मधेश नेताहरु एकजुट भएर चुनावमा जानेमा सहमत देखिएका छन् । तर अझै सबै पक्षबीच सहमति भइसकेको छैन ।

Comment


Related News

Latest News

Trending News