मधेश सरकारका मुख्यमन्त्री कृष्ण यादवले कर्मचारी सरुवा बढुवा निर्णय बदर गरेको आक्रोश वनका कर्मचारीहरुले पोखेका छन् ।
गत केही दिनअघि मधेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले पछिल्ला मुख्यमन्त्री सरोज यादवले गरेको सरुवा बढूवाको निर्णय बदर गरेपछि वन तथा वातावरण मन्त्रालय मातहतका वन निर्देशनालय अन्तर्गतका कर्मचारीहरुले निमित मुख्यसचिव घिमिरेको कार्यकक्षमा आक्रोश पोखेका हुन ।
निमित मुख्यसचिवसँग अमर्यादित आक्रोशित तरिकाले प्रस्तुत हुँदै ती कर्मचारीहरु सरुवा बदरको निर्णयले काम गर्न समस्या भइरहेको भनेका थिए । तर उनीहरुको कुरा राख्ने शैलीले नियत गलत रहेको सामाजिक सञ्जालमा भाइरल दृश्यमा देखिन्छ । निर्देशनालयमा लेखा अधिकृत नरहेको कारण काम गर्न समस्या भइरहेको कुराको बहानामा भेटन गएका निर्देशनालयका कर्मचारीहरुले के कति कारण कर्मचारी सरुवा बढुवा गरिएको निर्णय बदर गरिएको भनी आक्रोश पोखेका थिए ।
यस सम्बन्धमा वन निर्देशनालयका प्रवक्ता समेत रहेका बेचन महतोले भने ‘हामीले कर्मचारी सरुवा बढुवाको निर्णय बदर भन्दा पनि लेखा अधिकृत नरहेको कारण काम गर्नमा समस्या भइरहेको कुरा राख्न गएका थियौं । सोही क्रममा केही कर्मचारी साथीहरुले कर्मचारी सरुवा बढुवा निर्णय बदरको कुरा राखेका थिए । तर हाम्रो मनसाय गलत थिएन ।’ तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने पूर्व सन्ध्यामा आफू अनुकूल कर्मचारीहरुलाई सरुवा बढुवा गरेको थियो । सो निर्णय बाहिरे लगतै सामाजिक सञ्जालमा प्रदेश सरकारको निकै आलोचना भएको थियो ।
सात दलीय गठबन्धनका घटक दल नेपाली कांग्रेसका नेता कृष्ण यादवको नेतृत्वमा सरकार गठन भएपछि पदभार ग्रहणको पहिलो निर्णय नै सरोज यादव नेतृत्वको सरकारले गरेको सरुवा बढुवाको निर्णय बदर गर्ने निर्णय बदर गरेको थियो । सरुवा बढुवा निर्णय बदर भएपछि वन निर्देशनालयका कर्मचारीहरु मात्रै होइन अन्य मन्त्रालय तथा निकायका कर्मचारीहरु पनि आक्रोशित देखिएका छन् ।


