जनकपुरधाम उपमहानगरपालिका ४ स्थित श्रीराम मन्दिर क्षेत्रसँग सम्बन्धित रामायणी भवनको जिर्णोद्धार तथा सौन्दर्यकरण र नयाँ संरचना निर्माण कार्य शुरु गरिने भएको छ ।
एडीबीको सहयोगमा संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयद्वारा रामायणी भवनको जिर्णोद्धार तथा सौन्दर्यकरण र थप नयाँ संरचना निर्माण कार्य प्रक्रिया अघि बढाइएको छ । केही दिनअघि संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, पुरातत्व विभाग, गुठी संस्थान र स्थानीय संघ संस्थाका प्रतिनिधि तथा समाजसेवीहरुले जिर्ण अवस्थामा रहेका सो रामायण भवनको निरिक्षण गरेका थिए ।
निरिक्षणपछि गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिका, ई.अ.स. पुलचोक र पुरातत्व विभागलाई ५ सदस्यीय प्राविधिक टोली गठन गर्न पत्राचार गरेको छ । पुरातत्व विभागबाट इन्जिनियर सहित पुरातत्व अधिकृत, जनकपुर उपमहानगरपालिकावाट इन्जिनियर, इ.अ.सं. पुल्वोक क्याम्पसवाट स्ट्रक्चरल इन्जिनियर र संस्थानबाट इन्जिनियर गरी जम्मा ५ (पाँच) सदस्यीय प्राविधिक टोली गठन गर्ने निर्णय भए अनुरुप कार्यस्थलमा गई विस्तृत स्तर मूल्यांकन र सम्पदा मूल्यांकन गरी जिर्णोद्धार कार्यका लागि प्रतिनिधि तोकी पठाई दिन भनी गुठी संस्थानले पत्राचार गरेको हो ।
ती प्राविधिक टोलीले तयार गरेको प्रतिवेदनको आधारमा जिर्णोद्धारसहितको सौन्दर्यकरण र नयाँ संरचना निर्माण कार्य अघि बढाइने संघीय शहरी विकास तथा भवन निर्माण कार्यायले जनाएको छ । जनकपुर उपमहानगरपालिका ४ श्रीराम मन्दिरको पूर्वतर्फ धनुषसागर तलाउको किनारमा अवस्थित दुइतले रामायण भवनको छत पर्खाल एवं भुइ वि.सं. २०७२ को भुकम्पमा क्षतिग्रस्त भएपनि छत र भित्तामा कमशः हस्तलिखित सम्पूर्ण रामायण र रामायणसँग सम्बन्धित दुर्लभ भित्तेचित्र हालसम्म पनि बुझिने अवस्थामा नै रहेकोले उक्त भवन र त्यसमा रहेका अद्वितीय कला सम्पदालाई जोगाउन यथाशिघ्र जिर्णोद्धार/पुनःनिर्माण/मर्मत संभार गर्नुपर्ने आवश्यकता रहेको भनेको छ ।
रामायणी भवन र राम मन्दिर परिसरमा रहेका क्षतिग्रस्त अवस्थाका सत्तल संरक्षणतर्फ सामान्य मर्मत संभार/रेट्रोफिटिङ गर्नुपर्ने हो वा पुनःनिर्माण नै गर्नुपर्ने हो यकिन गरी सिफारिस गर्नुपर्ने देखिएकाले भवन संरचना जिणर्णोद्धार कार्यमा अनुभवी प्राविधिक टोली गठनमा सहयोग गर्न गुठी संस्थानले आग्रह गरेको छ ।


