नवनियुक्त मुख्यमन्त्री कृष्णाप्रसाद यादव मधेश भवनस्थित सरकारी निवासमा प्रवेश गरेका छन् ।
निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री निवास छाडेपछि औपचारिक रुपमा मुख्यमन्त्री कृष्णप्रसाद यादव शुक्रबार पूजाअर्चना गरी मधेश भवनस्थित मुख्यमन्त्री आवासमा प्रवेश गरेका छन् ।
गत १९ मंसिरमा सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता यादव ज्योतिषसंग साइत मिलाइ पूजाअर्चना गरी सरकारी आवासमा प्रवेश गरेका हुन् ।
यसअघि मुख्यमन्त्री एमालेका सरोजकुमार यादव र लोसपा नेपालका सांसद जितेन्द्रप्रसाद सोनलको कार्यकाल एक महिनाभन्दा कम हुँदा आवासमा लामोसमय बस्नै पाएनन् ।
सत्ता गठबन्धनमा भागवण्डा नहुँदा नवनियुक्त मुख्यमन्त्री यादवले सरकार विस्तार गर्न नसके पनि सरकारी आवासमा प्रवेश गरेसंगै सात दलीय गठबन्धनभित्र देखिएको भागवण्डाको निर्णयले समेत गति लिने अपेक्षा नेताहरुले गरेका छन् । मुख्यमन्त्री यादव प्रवेश गरेका सो आवासमा यसअघि राजा महाराजा बसोबास गर्ने गरेका थिए ।
तत्कालीन समयमा राजा तराई–मधेश क्षेत्रमा भ्रमणमा आउँदा तत्कालीन जनकपुर चुरोट कारखाना लिमिटेड अवस्थित राजाका लागि नै गेस्ट हाउसका रुपमा निर्माण गरिएको थियो । वि.सं. २०४९ मा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला आएको बेलादेखि उक्त भवन विशिष्ट जनप्रतिनिधिले प्रयोग गर्न थालेको देखिन्छ । सो गेस्ट हाउस छेउमै रहेको हाल प्रदेश प्रमुखको कार्यालयमा जचुकालिका प्रबन्धक निर्देशक र अध्यक्षसमेतका लागि आवास निर्माण गरिएको थियो । सो गेस्ट हाउस लामो समयदेखि नै बन्द रहेको थियो ।
जचुकालि सञ्चालन रहुञ्जेलसम्म राजा महाराजाहरुले प्रयोग गरे पनि पछि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले विश्राम कक्षको रुपमा प्रयोग गरे । तर जचुकालिमा मधेश प्रदेश सरकारको प्रशासनिक कामकाजदेखि मन्त्री र विशिष्ट कर्मचारीहरुको आवाससम्म स्थापना गरिएको छ । मुलुकमा प्रादेशिक संरचना स्थापना भएसंगै सात प्रदेशमा विभाजन भयो । त्यससंगै तत्कालीन समयमा प्रदेश नम्बर २ सरकार स्थापना भयो भने तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको समयमा मधेश प्रदेश स्थापना भयो ।
सो क्रममा त्यही भवनमा मुख्यमन्त्री राउतले आवासको रुपमा हिन्दू परम्परा अनुसार पूजाअर्चना गरी पाँच वर्षे कार्यकाल विताए पनि त्यसपछिका मुख्यमन्त्रीले भने पाँच वर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् । जसपा नेपालका नेता सरोजकुमार यादवले करिब डेढ वर्षे कार्यकाल पूरा गरे । उनले विश्व हिन्दू परिषद्को सदस्यता लिएसंगै सो भवनमा विधिवत रुपमा प्रवेश गर्नु अघि धार्मिक अनुष्ठानसहित गंगा जल छर्केर धुमधामसाथ पूजाअर्चना गरी भोजभतेरसमेत गरेका थिए । त्यसपछि उनले विधिवत रुपमा हिन्दू परम्परा अनुसार पूजाअर्चनासहित सो आवासमा प्रवेश गरे । तर पनि उनको सरकारले पाँच वर्षसम्म चल्न नसक्दै ढल्यो ।
त्यसपछि जनमत पार्टीका सांसद सतीश कुमार सिंहले समेत करिब डेढ वर्ष कार्यकाल विताए । मुलुकमा जेन– जी आन्दोलनपछि मुलुकमा भएको आमूल परिवर्तनसंगै मधेश प्रदेशमा मधेश केन्द्रित दलको हिसाबले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद जितेन्द्रप्रसाद सोनलको सरकारको गठन भयो । उनले पनि मुख्यमन्त्री आवास प्रवेश गर्नु अघि विधिवत रुपमा पूजाअर्चना गरेका थिए । तर पनि उनको कार्यकाल करिब एक महिना नपुग्दै अन्त्य भयो ।
यद्यपि उनले करिब दुई महिनासम्म सो आवासमा बसेर आफ्नो सरकार जोगाउनका लागि आन्दोलन गर्नसमेत भ्याए । उनको नेतृत्वको सरकार ढलेसंगै मधेश प्रदेशको ठूलो दलको हैसियतमा मध्यरातमा तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उपचार गराउन जाने नाममा बर्दिवासस्थित जंगलमा रहेको एक होटेलमा मुख्यमन्त्रीको नियुक्तिसंगै पदभार ग्रहण गराएका थिए ।
चोरबाटोबाट प्रदेश प्रमुखले छलेर मुख्यमन्त्री नियुक्त गरेको भन्दै एमाले इतरका सात दलीय गठबन्धनले असंवैधानिक र त्रुटिपूर्ण रुपमा सरकार गठन गरेको भन्दै लामो समयसम्म आन्दोलन गरेको थियो । त्यसपछि एमाले नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत दिए । सो निर्णयपछि मधेश प्रदेशमा कृष्णप्रसाद यादव नेतृत्वको सरकार गठन भएको छ । उनले शपथ ग्रहण गरेसंगै अर्थमन्त्रीमा महेशप्रसाद यादव र विना विभागीय मन्त्रीद्वय नेपाली कांग्रेसबाट जंगीलाल राय र नेकपा एसबाट कनिष पटेल छन् । उक्त सरकारी आवासमा प्रवेश गरे पनि यादव सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

