राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले चुनावमा केन्द्रित हुन सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशील कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेकी हुन्।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीसमेत आकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे।


