पूर्वमुख्यमन्त्री सतीशकुमार सिंहले सुविधा भनी लिएको सरकारी गाडीमा निजी नम्बर राखेर चढदै आएको देखिएको छ । उनी मुख्यमन्त्री रहेकै बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उपलब्ध गराइएको ज १ झ ४७० नम्बरको सरकारी स्कार्पियो अहिलेसम्म फिर्ता नगरी उनले सो गाडीमा ज १ च ४७० को निजी नम्बर प्लेट राखेर प्रयोग गरिरहेका छन् ।
गत शनिबार सिंह यही ज १ च ४७० नम्बरको स्कार्पियो चढेर राजनीतिक भेटघाटका लागि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ पाठशाला पुगेपछि विवादमा तानिएको हो । सरकारी नम्बर परिवर्तन गरी निजी नम्बर राखेर पूर्व मुख्यमन्त्रीले प्रयोग गर्दै आइरहेको भनी सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ ।
यस सम्बन्धमा जिज्ञासा राख्दा पूर्व मुख्यमन्त्री सिंहले आफू चढिरहेको भनी स्वीकार गरेका छन । जेनजी आन्दोलनका बेला सुरक्षा जोखिमका कारण सरकारी नम्बरमा निजी नम्बर लेख्न लगाउंदा पेन्टरको लापरवाहीको कारण यस्तो हुन गएको बताए । उनले भने, ‘जेनजी आन्दोलनको क्रममा सुरक्षाको दृष्टिकोणले रातो प्लेट बनाएको थिए । नम्बर प्लेटमा ‘झ’ सरकारीमा मात्र लेखिने भएको हुँदा पेन्टरले ‘च’ लेखेको थियो । त्यति मात्र हो । अब सेतो नम्बर प्लेट लगाई सच्यानेछु ।
दुई महिना बितिसक्दा पनि सरकारी गाडी किन फिर्ता गर्नु भएन भन्ने प्रश्नमा उनले पूर्व मुख्यमन्त्रीलाई सरकारी गाडी दिने सुविधा कार्यविधिमै रहेको कारण सबैले राखेकाले म पनि राखेको हुँ । सबैले फिर्ता गर्छन भने म पनि फिर्ता गरिदिन्छु । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्टोर शाखाका कम्प्युटर अधिकृत रामअशिष रायका अनुसार ज १ झ ४७० नम्बरको सरकारी स्कार्पियो हाल पनि पूर्वमुख्यमन्त्री सिंहकै जिम्मामा छ ।
‘गाडी फिर्ता गर्न उहाँलाई मौखिक रूपमा जानकारी गराइसकेका छौं,’ रायले भने, ‘तर कार्यालयमा अझै गाडी आएको छैन । १–२ दिनभित्र पत्राचार गर्ने तयारी छ ।’ निजी नम्बर प्लेटको वास्तविकता बुझ्न यातायात व्यवस्था कार्यालय जनकपुरमा सोधपुछ गर्दा ज १ च ४७० नम्बर पिकअप गाडीको नाममा दर्ता रहेको खुलेको छ ।
कार्यालयका अनुसार उक्त पिकअप गाडी १५ साउन २०७० मा पूर्वमुख्यमन्त्री सिंहकै दाजु सुरजकुमार सिंहको नाममा नामसारी भएको थियो । तर, सो गाडी २०७१ सालपछि नवीकरण नगरिएको देखिएको छ । सो विषयमा दाजु सुरजकुमार सिंहसँग सम्पर्क गर्दा उनले ज १ च ४७० नम्बर आफ्नो पिकअप गाडीको भएको स्वीकार गरे । तर, उक्त नम्बर स्कर्पियोमा प्रयोग गरिएको विषयमा आफूलाई जानकारी नभएको उनको दाबी छ । ‘त्यो नम्बर मेरो पिकअपको हो, स्कर्पियोमा राखिएको छ भने मलाई थाहा छैन,’ उनले भने ।
पिकअप गाडी अहिले कहाँ छ भन्नेबारे भने उनले खुलाउन चाहेनन् । यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख धनञ्जय सिंहले पिकअप गाडीको नम्बर स्कार्पियोमा राखेर चलाउनु गैरकानुनी हुने स्पष्ट पारे । उनले भने ‘यसरी फरक सवारीको नम्बर प्लेट प्रयोग गरेर चलाउन मिल्दैन, यस्तो अवस्थामा ट्राफिक प्रहरीले तत्काल कारबाही गर्छ । जानकारी पाएमा हामी पनि छड्के जाँच गरी कारबाही प्रक्रिया अघि बढाउने छौं ।’


