जनकपुरधाम उपमहानगरपालिकाले ट्राफिक नियम पालन गर्ने सवारी साधनलाई कारवाही गर्ने चेतावनी दिइएको छ ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी ई–रिक्सा चालकबाट हुने दुव्र्यवहार, तोकिएकोभन्दा बढी भाडा असुली, जथाभावी पार्किङ तथा यात्रु चढाउने–ओराल्ने क्रममा ट्राफिक नियम उल्लङ्घन हुने गर्ने गरेको गुनासो आइरहेकाले उपमहानगरको नियम पालन नगर्ने कारवाही गर्ने भनेको छ ।
अव्यवस्थित ई–रिक्सा सञ्चालनका कारण ट्राफिक अस्तव्यस्त हुनुका साथै सवारी दुर्घटनाको जोखिम बढेको र पैदलयात्रीसमेत प्रभावित भएको निष्कर्षसहित उपमहानगरपालिकाले ई–रि क्सा चालक तथा नगरवासीलाई सहकार्य गर्न आग्रह गरेको छ । यस्ता गतिविधिका कारण सर्वसाधारण, पैदलयात्री, आन्तरिक तथा बाह्य पर्यटक, सुरक्षाकर्मी र नगरवासीले पटकपटक गुनासो तथा ध्यानाकर्षण गराउँदै आएको उपमहानगरपालिकाले जनाएको छ ।
विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार टेम्पो, अटो–रिक्सा तथा ई–रिक्सा जस्ता सवारी साधनको कर निर्धारण, दर्ता, अनुमति तथा नियमन गर्ने अधिकार स्थानीय तहमा निहित रहेको स्पष्ट पारिएको छ । सोही कानुनी प्रावधानका आधारमा जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्सा दर्ता प्रक्रिया सुरु गरिसकेको र आगामी दिनमा सञ्चालन अनुमति तथा नियमनलाई थप प्रभावकारी बनाइने जानकारी दिइएको छ ।
ई–रिक्सा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन यसअघि विभिन्न सरोकारवाला निकायसँग पटकपटक छलफल तथा बैठक भएको उल्लेख गर्दै उपमहानगरपालिकाले नगर क्षेत्रभित्र ई–रिक्साको चाप घटाउने र निश्चित मापदण्डअनुसार सञ्चालन गर्ने निर्णय भएको जनाएको छ । यसले ट्राफिक व्यवस्थापन सहज हुने, दुर्घटनाको जोखिम घट्ने र नगरको समग्र सौन्दर्यमा सुधार आउने विश्वासमा छ ।
यता नगरभित्र संचालन गर्न दिनुपर्ने भन्दै यातायात व्यवस्था कार्यालयमा दर्ता भएको ई रिक्सा चालकहरु गत दुई दिनदेखि आन्दोलनमा छन् । उनीहरुले आफू कानून बमोजिम दर्ता भएपनि जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र संचालन गर्न नदिएको भनी आक्रोशित बनेका छन् ।
उपमहानगरपालिका भित्र हजारौको संख्यामा ई—रिक्सा संचालन भइरहेको कारण ट्राफिक व्यवस्थापनमा निकै समस्या उत्पन्न भइरहेको छ । अत्यधिक संख्यामा ई—रिक्सा भएको कारण नगरभित्र अन्य सवारी साधन मात्र होइन पैदल यात्रीलाई समेत समस्या हुँदै आएको छ । आन्दोलनको क्रममा बुधवार ई रिक्सा चालकहरुले अन्य ई रिक्साबाट पैसेन्जर उतारेर तिनीहरुलाई पनि बलजफ्ती आन्दोलनमा सहभागी गराएका थिए ।
ई—रिक्सा संचालनका लागि चालकलाई तालिमको अभाव, स्टोपेज र पार्क अभावमा जनकपुरधाम नगरभित्र ट्राफिक अव्यवस्थापनले गर्दा दिनहुँ दुर्घटना भइरहेको दृष्टिगत गर्दै उपमहानगरपालिकाले ई–रिक्सालाई व्यवस्थित बनाउन नियमन गर्ने तयारी गरेको छ ।



