मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मधेश प्रदेशसभाले शुक्रबार दिउँसो चारबजेको लागि बोलाइएको बैठक करिब डेढ घण्टा पछि बसेको थियो । उक्त बैठकबाट सर्वसम्मत रुपमा मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गरेका छन् ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादव नेकपा एमालेबाहेकको सात दलीय गठबन्धनका ७७ सांसदको समर्थनमा गएको मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । शुक्रबार उनलाई गठबन्धनमा सहभागी नभएको एमालेले पनि विश्वासको मत दिएका छन् । मुख्यमन्त्री यादवलाई शुक्रबार बसेको बैठकमा एमालेले पनि मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिएको थिए ।
कांग्रेस नेता यादव एमालेबाट मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवको सरकार ढालेर मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गत कार्तिक २४ गते ठूलो दलको हैसियतमा रातारात मधेशको मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवको पद २४ दिनमै एमालेले मधेश प्रदेशमा प्रतिपक्षको कित्तामा पुग्यो । उक्त प्रकरणमा एमालेले मधेशको मुख्यमन्त्रीसंगै प्रदेश प्रमुख र सभामुख गुमाउनु परेको थियो ।
मधेशमा सबै दलले कांग्रेसलाई समर्थन गर्दै एमालेको साथ छाडेपछि कांग्रेसका संसदीय दलका नेतासमेत रहेका कृष्णप्रसाद यादवको नेतृत्वको प्रदेश सरकार गठन भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवसंगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डलले पनि पद गुमाउनु परेको थियो ।
तत्कालीन प्रदेश प्रमुख भण्डारीले मध्यरातमा महोत्तरीस्थित बर्दिवासको एक जंगलमा सरोज कुमार यादवलाई विवादास्पद ढंगले नियुक्त गरेपछि पूर्वप्रदेश प्रमुख भण्डारीलाई सरकारले कार्तिक २४ गते नै पदमुक्त गरेर मधेशमा सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख बनाएको छ । उक्त प्रकरणमा एमालेलाई सहज हुने गरी प्रदेश सभा बैठक सञ्चालनको आरोप लागेका सभामुख रामचन्द्र मण्डल पनि मंसिर ३ गते विपक्षी दलले लगाएको महाअभियोगबाट पदमुक्त हुनु परेको थियो ।
तर शुक्रबार प्रदेशसभाको बैठकमा एमालेले पनि कांग्रेसका कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिएका छन् । शुक्रबार बसेको प्रदेश सभाबाट बैठकमा १०४ जनामध्ये उपस्थित रहेका मध्ये ९२ जना सांसदको समर्थन प्राप्त गरेका छन् । यादवलाई कांग्रेस, जसपा नेपाल, जनतमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।
मुख्यमन्त्री कृष्ण प्रसाद यादवको समर्थनमा सात दलीय गठबन्धनमा रहेका प्रदेश सभामा कांग्रेसका २२ जना, जसपा नेपालका १९ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९जना र लोसपा नेपालका ८ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नागरिक उन्मुक्ति पार्टीको १ सहित गरी ७८ जना सांसद छन् । प्रतिपक्षी दलका रुपमा रहेका नेकपा एमालेका २४ जना, राप्रपा र संघीय समाजवादी पार्टीका १/१ जना प्रदेश सांसद छन् ।
यता एमालेले मुख्यमन्त्रीमा यादवलाई समर्थन गरेपछि राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई कांग्रेसले समर्थन गर्नेमा बढी सम्भावना रहेको भन्दै कांग्रेस–एमाले इतरका दलमा संशय उत्पन्न भएको छ ।



