मधेश प्रदेशमा खटाइएका ३१ जना घुमुवा प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।
प्रदेशका जिल्लाहरुमा घुमुवा प्रहरीका नाममा असुली गर्ने, धाकधम्की दिने तथा अवाञ्छित गतिविधिमा संलग्न भएको गुनासो बढ्दै गएपछि उनीहरूलाई हटाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो समय तराईका विभिन्न जिल्लामा घुमुवा प्रहरीको व्यवहारप्रति व्यापक असन्तुष्टि देखिएको थियो ।
सर्वसाधारण तथा सरोकारवालाबाट लगातार उजुरी आउन थालेपछि संगठनभित्रै शुद्धीकरण गर्ने योजनाअनुसार कारबाही अघि बढाइएको हो । मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले घुमुवा प्रहरी प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन उक्त निर्णय लिइएको जानकारी दिए ।
‘प्रहरी संगठनभित्र सुधार र अनुशासन कायम गर्न ३१ जना घुमुवा प्रहरीलाई हटाएका हौं,’ उनले भने, ‘उनीहरूको भूमिकाबारे थप आन्तरिक अनुसन्धानसमेत सुरु गरिएको छ ।’ डीआईजी थपलियाका अनुसार अनुसन्धानबाट दोषी देखिएमा सम्बन्धित प्रहरीमाथि विभागीय कारबाहीसमेत गरिनेछ । प्रदेश प्रहरी कार्यालयले अबदेखि घुमुवा प्रहरीको गतिविधिलाई कडाइका साथ अनुगमन गर्ने र नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा जोड दिइने जनाइएको छ ।


