२०८२ पुष ५, शनिबार ०८:१७

नेपालको आधाभन्दा अधिक जनसंख्या मधेशमा बसोबास गर्छन् । मुसलमान, थारु, दुनुवार, राजवंशी, कोच आदि मधेशी मूलका नागरिकहरुको संख्या मुलुकको कुल जनसंख्याको झण्डै एक तिहाइ हो ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाए अनुसार, २०६८ देखि ०७८ को बीच (पछिल्लो दश वर्ष) मा तराईको जनसंख्या ५० दशमलव २७ प्रतिशतबाट बढेर ५३ दशमलव ६६ प्रतिशत पुगेको छ । हिमालको जनसंख्या ६ दशमलव ७३ पतिशतबाट घटेर ६ दशमलव ०९ प्रतिशतमा झरेको छ भने पहाडको जनसंख्या ४३ दशमलव ०१ प्रतिशतबाट घटेर ४० दशमलव २५ प्रतिशतमा झरेको छ ।

नेपालको कुल जनसंख्याको झण्डै एक चौथाइ पाँच जिल्लामा बसोबास गर्छन् । ती पाँचमध्येका बाग्मती बाहेकका चार जिल्ला तराई मधेशका छन् । राष्ट्रिय जनगणना २०७८ को परिणाम सार्वजनिक भएको झण्डै दुई वर्ष बिती सकेको भए पनि आज यस विषयलाई किन कोट्याउन खोजिएको होला ? यो जिज्ञासा हाम्रा प्रिय पाठकहरुलाई अवश्य होला ।

प्रिय पाठकहरुमा के निवेदन गर्न चाहे भने जनगणनाको रिपोर्ट आएको दुई वर्ष बितिसके पनि नेकपा एमालेको ११ औं महाधिवेशनमा संगठनले निर्वाचन प्रक्रियाबाट चुनेका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको नामावली यसै साता सार्वजनिक भएको हो । मधेश प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा मधेशी जनताले सबभन्दा अधिक मतदान गरेर पहिलो पार्टी बनाएको एमाले संगठनभित्र एमाले सम्वद्ध मधेशी नेताहरुले हैसियत (एमालेलाई दिएको मत) अनुसारको अवसर पाए त ? मधेशी जनताले सबभन्दा ठुलो दल बनाएको एमाले आफ्नै दल निकट मधेशी नेताहरुमाथि किन विश्वास गर्दैनन् ? के मधेशी मतदाता एमाले, कांग्रेस र माओवादीलगायतका ठुला दलहरुलाई भोट दिनकै लागि जन्मेका हुन् ? नेकपा एमालेको सम्पन्न ११ औं महाधिवेशनले राजधानीसहित ८ प्रदेश तथा अन्य विभागका लागि १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटि चयन गरेको छ ।

ती १९ पदाधिकारीहरुमध्ये १७ प्रतिशत जनसंख्या भएको खस–आर्यबाट २ जना, १२ प्रतिशत जनसंख्या भएको ब्राह्मणबाट १३ जना तथा झण्डै ३३ प्रतिशत जनसंख्या भएको मधेशी समुदायबाट रघुवीर महासेठ (उपमहासचिव) को रुपमा एकजना मधेशीलाई मात्र चयन गरेको छ । नेपालको संविधान २०७२ ले राज्यको सम्पूर्ण निकाय तथा संघ संस्थामा समावेशी–समानुपातिक सिद्धान्तको आधारमा प्रतिनिधित्व गर्ने ग्यारेन्टी गरेको छ । तर बिडम्बना नेकपा एमालेले पदाधिकारीमा समावेशी सिद्धान्तलाई बेवास्ता गरेको छ ।

‘कालाहरु कालो दिवस मनाउने हो । रुखबाट एक दुई आप झर्दैमा के हुन्छ ? भन्दै नेकपा एमालेका केही नेताहरु मधेश आन्दोलनको हाकाहाकी विरोध गरेका थिए । आफ्ना स्वामीलाई खुसी पार्न नेपाली कांग्रेसका केही नेताहरुले पनि मधेश आन्दोलनको विरोध गरेका थिए । तर आज विडम्बना के हो भने मधेश आन्दोलनको विरोध गर्ने यिनै नेताहरु आज अ–आफ्ना पार्टीभित्र मधेशी कोटामा रमाइरहेका छन् । नेकपा एमालेको ११ हौं महाधिवेशनको परिणाम हेर्ने हो भने मधेशी, दलित तथा आदिवासी जनजाति कोटा (संरक्षित) बाहेक अन्य खुल्ला पदमा मधेशी, मधेशी आदिवासी जनजाति र मधेशी दलितले नगन्य उपस्थिति छ ।

मधेश भूगोलका लागि एमालेले छुट् याएको ५ खुल्ला केन्द्रीय सदस्यमा एकवाल मिया, ताराकान्त चौधरी, मनोजकुमार खडका, राजकुमार लेखी र हरिप्रसाद उप्रेती निर्वाचित भएका छन् । खुल्लामा मधेशका बहुसंख्यक यादव, साहु, मण्डलमध्ये एउटै पनि परेका छैनन् । ४० वर्ष मुनिको कोटामा पनि मोबिन आलम चयन भएका छन् । खुल्ला महिला सदस्यको ५२ पदमध्ये मधेशी मूलकी निरु देवी पाल र भगवती चौधरीबाहेक कोही अटाउन सकेकी छैनन् ।

आदिवासी जनजातिका लागि छुट्याइएको १५ केन्द्रिय सदस्यमध्ये १ जना विसमलाल अधिकारी दुनुवार निर्वाचित भएका छन् । मधेशीको लागि आरक्षित समावेशी मधेशी केन्द्रीय सदस्यमा भने मुनी साह सुडी, रामचन्द्र मण्डल, लखन दास तत्मा, विजयकुमार सरावगी, सरोजकुमार यादव र हरिनारायण महतो निर्वाचित भएका छन् । मधेशी समावेशी महिला कोटामा ज्वाला कुमारी साह, जुली कुमारी महतो, प्रतीक्षा तिवारी, सरिता कुमारी गिरी यादव र सविता यादव निर्वाचित भएका छन् ।

मधेशबाट भोट सोहोर्ने तर मधेशी नेताहरुलाई केन्द्रिय पदाधिकारी तथा सदस्य बनाउन नचाहने पार्टीमा नेपाली कांग्रेस पनि पर्छ । नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनबाट शेरबहादुर थापा दोश्रो कार्यकालका लागी सभापति चयन भएका थिए । यसै महाधिवेशनमा नेपाली कांग्रेसमा तीन पुस्ते राजनीतिक लिगेसी भएको विमलेन्द्र निधीले पनि सभापतिमा उम्मेदवारी दिएका थिए । उनले २ सय ५० मतमात्र प्राप्त गर्न सकेका थिए । जबकी कोर मधेश भनिएको तत्कालीन प्रदेश– २ मा मात्र ८ सय भन्दा अधिक महाधिवेशन प्रतिनिधि (भोटर) थिए ।

सहमहामन्त्रीका ८ आरक्षित पदमा मधेशी कोटामा महेन्द्र यादव निर्वाचित भएका थिए । महेन्द्र यादवका प्रतिस्पर्धीहरु थिए– रामकृष्ण यादव र रञ्जीत कर्ण । आरक्षित कोटा भन्दा बाहिर एउटै पनि मधेशी पदाधिकारी बन्न सकेनन् । केन्द्रीय सदस्यमा पनि मधेशी कोटा बाहेक एक आधा मात्र जित्न सके ।

Comment


Related News

Latest News

Trending News