२०८२ पुष ५, शनिबार ०८:२२

पुस महिना सुरु हुनासाथ जनकपुरधामसहित तराई– मधेशका जिल्लाहरूमा शीतलहर र बाक्लो हुस्सुको प्रकोप बढेको छ ।

मधेश प्रदेशका धनुषासहित ८ वटै जिल्लामा शुक्रवार बिहानैदेखि घाम नलागेर चिसो बढेको छ । बिहानैदेखि चिसो हावा र लागेको बाक्लो हुस्सु विमान सेवा समेत प्रभावित भएका छन् ।

बिहानको विमान जनकपुरधामबाट उडान भएपनि त्यसपछि दिनभरि अर्को उडान वा अवतरण हुन सकेन । बिहीवारसम्म पारिलो घाम लाग्ने गरेकाले सामान्य कपडामै हिँडडुल गर्ने सर्वसाधारण शुक्रवारदेखि एक्कासी बढेको चिसोबाट जोगिन बाक्लो न्यानो लुगा लगाउन बाध्य भएका छन् । न्यानो लुगा ज्याकेट, स्वेटर, उलेन चादरको विक्री समेत बिहानैदेखि बढेको देखियो ।

स्थानीयहरूका अनुसार, बिहानदेखि नै लाग्ने हुस्सुले चिसोपन अत्यधिक बढाएको छ । “घामै देखिँदैन, चिसोले हातखुट्टा कटकट खान्छ,“ । बजारमा मानिसको चहलपहल कम भएको छ, स्कूल जाने बालबालिका र बूढापाकाहरू घरभित्रै सीमित हुने अवस्था आएको छ । ग्रामीण क्षेत्रमा स्थानीय आगो तापेर बस्न थालेका छन् ।

गरिब परिवारहरूले प्लास्टिक र झिल्लीलाई आगोमा तताएर न्यानो खोज्नुपर्ने बाध्यता छ । हरेक बर्ष जाडोयाममा तराई–मधेशमा यस्तै शीतलहर चल्छ । घाम नदेखिने दिनहरू लामो हुँदा कृषि काम प्रभावित हुन्छ, तरकारी बाली सुक्न थाल्छ । विगतमा चिसोकै कारण पर्याप्त न्यानो कपडा नहुनेहरूको ज्यान गएका घटना पनि छन् ।

यो वर्ष पनि मौसम विभागले चिसो बढ्ने चेतावनी दिएको छ । स्वास्थ्यकर्मीहरूले चिसोबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । चिकित्सकहरु भन्छन् “तातो झोलिलो खानेकुरा खानुहोस्, न्यानो कपडा लगाउनुहोस् र अत्यावश्यक बाहेक बाहिर ननिस्कनुहोस् । बूढा–बूढी र बालबालिकालाई बढी जोखिम हुन्छ ।” गएरातिदेखि एक्कासी बढेको चिसो केही दिन कायम रहने मौसम विज्ञहरुको अनुमान छ । सर्वसाधारणलाई घरमै बस्न र न्यानोमा ध्यान दिन सबैले सल्लाह स्वास्थ्यकर्मीहरुको रहेको छ ।

Comment


Related News

Latest News

Trending News