मधेशको सभामुखका लागि दुई जनाले उम्मेदवारी दिएकाले आइतबार मतदान हुने भएको छ ।
सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी(जसपा) नेपालका सांसद रामअशिष यादवले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
यादवको प्रस्तावक नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद फकिरा महतो रहेका छन् । उनलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी, नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको छ ।
सात दलीय गठबन्धनमा ७४ जना रहेका छन् । सो संख्या प्रदेश सभाको दुई तिहाइभन्दा बढी रहेको छ । त्यसैगरी एमालेका प्रसादलाई एमाले सांसद शारदा देवी थापा प्रस्तावक र जयचन्द्र प्रसाद पटेल समर्थक रहेका छन् । एमालेको मधेश प्रदेशसभामा कुल २५ सभासद मध्ये २४ जनाले मतदान गर्ने छन् ।
संघीय समजावादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ जना सांसद छन् । उनीहरुले पनि सात दलीय गठबन्धनलाई समर्थन गर्ने बलियो सम्भावना रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक कुमर कान्त झाले बताए । ‘उहाँहरुसित संवाद भइरहेको छ’ उनले भने, यादवलाई सर्वसम्मत रुपमा सभामुख बनाउन प्रयास भइरहेको छ । सभामुखको चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेश सभाको बैठक डाकिएको छ । त्यस अघि बिहान ११ बजे परामर्श समितिको बैठक बोलाइएको छ ।
परामर्श समितिको बैठकपछि सभामुख चयनका लागि प्रदेश सभाको बैठकमा प्रक्रिया अगाडि बढाइने छ । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’बाट लगातार दोस्रो पटक जसपाबाट सांसद निर्वाचित भएका छन् । प्रदेश सभामा उनी दुई पटक उत्कृष्ट सांसदको पुरस्कार समेत पाएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषाको सभापति रहिसकेका यादव नेपाल र भारतको विभिन्न भागमा समेत प्रसिद्ध महागंगा आरतीको संस्थापक हुन् । जनकपुरधामको धार्मिक, सांस्कृतिक पर्यटकलाई गंगा आरतीले आकर्षित गर्दै आएको छ । उनी सामाजिक अभियन्ता र वातावरण संरक्षणका लागि वृक्षारोपणमा सक्रिय समेत रहेका छन् । शिक्षामा जोड दिने उनी भद्र र शालिन व्यक्तित्वको रुपमा परिचित छन् । मधेश प्रदेशको सभामुखको जिम्मेवारी जसपा नेपालले दोस्रो पटक पाउन लागेको छ ।
मधेश प्रदेशमा चीरप्रतिद्वन्दी मानिएको जनमत पार्टीले पनि सभामुखमा यादवलाई समर्थन जनाएको छ । मधेश प्रदेशमा उपसभामुख जनमत पार्टीकी बबिता कुमारी इसर रहेकी छन् । प्रदेश सभाको प्रारम्भमै उनी उपसभामुख बनेदेखि निरन्तर रहेकी छन् । एमालेबाट सभामुखका लागि उम्मेदवारी दिएका प्रसाद समानुपातिक तर्फका सांसद हुन् ।
उनी बारा जिल्लाको कोल्हवी नगरपालिकाका स्थायी वासिन्दा हुन् । मधेश प्रदेशसभाको पहिलो कार्यकालमा सरोज कुमार यादव(पूर्व मुख्यमन्त्री)ले भने सभामुख रहेका थिए । दोस्रो कार्यकालमा नेकपा एमालेका रामचन्द्र मण्डलले नेपाली कांग्रेसका उम्मेदवार जंगीलाल रायलाई पराजित गरी सभामुख निर्वाचित भएका थिए ।
मण्डललाई जसपा नेपाल, लोसपा लगायतका दलहरुले समर्थन गरेका थिए । तर मण्डलले पद अनुकूलको आचरण नगरेको अभियोगमा पदमुक्त भए । उनी झण्डै तीन वर्ष सभामुख रहे । प्रदेश सभामा उनलाई दुई तिहाई बहुमतले महाअभियोग लगाएर पदमुक्त गरिएपछि आगामी कार्यकालका लागि सभामुखको चुनाव हुन थालेको छ ।
मधेश प्रदेशमा मात्र नभइ देशको सातवटै प्रदेशमा महाअभियोग लगाएर सभामुखलाई मधेश प्रदेशमा मात्र पदच्यूत गरिएको हो । सभामुखबाट मण्डलको कार्यकाल अत्यन्त विवादास्पद रह्यो । पहिलो पटक उनी सांसद निर्वाचित भएपछि दल परिवर्तन गर्ने क्रममा सांसद पद नै गुमाएका थिए ।


