जनकपुरधामस्थित रामानन्द युवा क्लबले आफ्नो ४० औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा तीन जनालाई पुरस्कृत गरेको छ ।
साहित्य क्षेत्रमा निरन्तर साधना र योगदान पु¥याउँदै आएका साहित्यकार नित्यनन्द मण्डललाई प्रतिष्ठित विद्यापति स्मृति पदकद्वारा सम्मान, खेलकुद क्षेत्रमा क्रिकेट प्रशिक्षक नवीन सिंह र कला क्षेत्रतर्फ तबला वादक मिथिलेशलाई पुरस्कार प्रदान गरिएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनीहरुलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका छन् ।
कार्यक्रम क्लबका अध्यक्ष शशिभूषण झाको अध्यक्षतामा सम्पन्न सो समारोहमा क्लबका पूर्व अध्यक्षहरू, नागरिक समाजका अगुवा, बुद्धिजीवी, युवा अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि प्रदेश प्रमुख डा. लाभले आफ्नो सम्बोधनमा युवाहरूलाई सकारात्मक सोच र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्न आग्रह गर्दै यस्ता संस्थाहरू समाज परिवर्तनका महत्वपूर्ण आधार स्तम्भ भएको बताए । उनले रामानन्द युवा क्लबले निरन्तर रूपमा सिर्जनात्मक, प्रेरणादायी र समाजोपयोगी कार्यक्रम गर्दै आएकोमा शुभकामना व्यक्त गरे । कार्यक्रमका क्रममा क्लबको ४० वर्षे गौरवशाली यात्राको स्मरण गर्दै योगदान पु¥याउने सम्पूर्ण व्यक्तित्व, सहयोगी तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।


