२०८२ पुष ६, आईतवार १०:१३

पुर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका–१० चपुर–गौर सडकखण्डको बालचनपुरमा गएराति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले चन्द्रपुरबाट गरुडातर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रौतहट गढिमाई नगरपालिका–४ सुन्दरपुरका ५० वर्षीय प्रमोद साह कानुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार ६५ वर्षीय जोगिन्द्र हजारा पासवानको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले जानकारी दिएका छन्।

घटनामा संलग्न हुनसक्ने आशंकामा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ। ट्याक्टर चालक फरार रहेकाले खोजी कार्य तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

Comment


Related News

Latest News

Trending News