मोबाइल प्रयोगकर्ताको बढ्दो संख्यासँगै बन्द हुने अवस्थामा पुगेका जनकपुरधामका सिनेमा हलमा मैथिली फिल्मले नयाँ उत्साह थपेको छ । शुक्रबारदेखि जनकपुरधामस्थित आशा सिनेमा हलमा प्रदर्शनमा आएको मैथिली फिल्म ‘कलकतियावाली’ ले उल्लेख्य दर्शक तान्न सफल भएको छ ।
नयाँ हिन्दी फिल्महरू रिलिज हुँदा समेत दर्शकको उपस्थिति न्यून देखिँदै आएको अवस्थामा मैथिली फिल्म ‘कलकतियावाली’ ले हलमा भीड जुटाएको हो । शुक्रबारदेखि आशा सिनेमा हलमा प्रदर्शन सुरु भएयता फिल्म हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको छ ।विगत एक महिनादेखि विभिन्न सहरमा टेन्टमार्फत प्रदर्शन गर्दै आएको फिल्म टिमले सेन्सर पास भएपछि पहिलोपटक ठूलो पर्दामा ‘कलकतियावाली’ रिलिज गरेको हो । फिल्म प्रदर्शनसँगै दर्शकहरू उत्साहका साथ हल पुगेका छन् । पहिले फाटफुट देखिने दर्शकको सट्टा अहिले भारी भीडभाडसहित दर्शकहरू फिल्म हेर्न पुगेका छन् ।
दर्शकको सकारात्मक प्रतिक्रियाले मैथिली फिल्ममा लगानी गर्न सकिने सन्देश दिएको फिल्मकर्मीहरूको भनाइ छ । ‘लभ यु मिथिला’ को प्रस्तुति रहेको यस फिल्मका गीतहरूलाई यसअघि नै दर्शकहरूले अत्यधिक मन पराइसकेका छन् ।फिल्ममा इशिका भुजेल, श्यामकुमार, अनिसा झा, रामनारायण ठाकुर र अभिनास झाको मुख्य भूमिका रहेको छ । ‘कलकतियावाली’ को निर्देशन अरुण विजयाले गरेका हुन् । संगीत प्रमोद मनोजले दिएका छन् भने फिल्मका निर्माता विजय यादव हुन् ।
शुक्रबारदेखि जनकपुरधाममा रिलिज भएको ‘कलकतियावाली’ जनकपुरधामपछि मैथिली भाषी दर्शक रहेका अन्य सहरका सिनेमा हलहरूमा पनि प्रदर्शन गरिने बताइएको छ । निर्देशक अरुण विजयाका अनुसार भारतमा प्रदर्शनका लागि सेन्सर प्रक्रियामा रहेको फिल्म सेन्सर पास भएलगत्तै भारतको बिहार राज्यका सिनेमा हलहरूमा समेत प्रदर्शन गरिनेछ ।


