जनता समाजवादी पार्टी(जसपा) नेपालका सांसद रामअशिष यादवले आइतबार साँझ मधेश प्रदेशको सभामुख पदको शपथ ग्रहण गरेका छन् । सभामुख पदमा निर्वाचित भएको केही घण्टा भित्रै उनलाई मधेश भवनमा आयोजित समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सपथग्रहण गराएका थिए ।
सभामुख यादवको शपथ ग्रहण समारोहमा मुख्यमन्त्री कृष्णप्रसाद यादव, पूर्वमुख्यमन्त्रीहरु सरोज कुमार यादव, जितेन्द्र सोनललगायत मन्त्री र सांसदहरुको उपस्थिति थियो । त्यस अघि उनी मधेश प्रदेश सभामा भएको निर्वाचनमा ७२ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए । प्रदेश सभामा आइतबार भएको निर्वाचनमा यादवले ७२ मत प्राप्त गरी सभामुख निर्वाचित भएको घोषणा बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता कुमारी राउत इसरले गरिन् ।
प्रदेश सभामा कायम रहेको सदस्य १ सय ७ को बहुमत संख्या ५४ भन्दा बढी रहेकाले यादव सभामुखमा निर्वाचित भएको उनले घोषणा गरिन् । उनको विपक्षमा उम्मेदवारी दिएका त्रिलोकी प्रसादको प्रस्तावलाई निर्णायक प्रस्तुत गर्नु नपरेको इसरले बताइन् । यादवको विपक्षमा २४ जना सांसदले मतदान गरेका थिए ।
विपक्षमा मतदान गर्नेहरुमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद थिए । मत विभाजन हुँदा प्रदेश सभामा ९६ जना सांसद उपस्थित थिए । नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले सात दलीय गठबन्धनका तर्फबाट यादवलाई सभामुखमा प्रस्ताव गरेका थिए । एमालेका त्रिलोकी प्रसादलाई एमालेकै निर्वाचित गरियोस् भन्ने प्रस्ताव कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले गरेका थिए । यादव विरुद्ध उम्मेदवारी दिएका त्रिलोकी प्रसादको प्रस्ताव एमालेकी सांसद शारदा देवी थापाले गरेकी थिइन् ।
एमाले संसदीय दलका नेता सरोज कुमार यादवले बैठकमा दुवै प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्न माग गरेका थिए । उनले त्रिलोकीको प्रस्तावलाई पहिले निर्णायार्थ प्रस्तुत गर्न माग गरे पनि सभामुखको आसनमा रहेकी उपसभामुख इसरले संघीय संसदको अभ्यास, प्रदेश सभाको नियमावलीलाई उल्लेख गर्दै पहिले दर्ता भएको प्रस्तावलाई नै पहिले निर्णायार्थ प्रस्तुत गर्ने बताएपछि एमाले पनि मतदान प्रक्रियामा सहभागी भएको थियो ।
पद अनुसारको आचरण नगरेको अभियोगमा सभामुखबाट पदमुक्त भएका रामचन्द्र मण्डल पनि बैठकमा सहभागी थिए । उनलाई दुई तिहाइ बहुमतले पद अनुकूल आचरण नगरेको अभियोगमा पदमुक्त गरिएपछि सभामुखको चुनाव गरिएको छ । उनी प्रमुख प्रतिपक्षी दल एमालेको बेञ्चमा रहेका थिए । सभामुख निर्वाचित भएका यादव शिक्षण पेशाबाट पत्रकारिता हुँदै गंगासागर सफाई र महागंगा आरतीको सुरुवात गर्दै राजनीतिमा प्रवेश गरेका हुन् ।
जनता समाजवादी पार्टी(जसपा) नेपालबाट धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका हुन् । जसपा नेपाल मधेश प्रदेशको प्रमुख सचेतक रहेका यादव दुई कार्यकालमा दुई पटक उत्कृष्ट सांसदका पुरस्कार प्राप्त गरेका छन् ।उ नी मृदुभाषी, शालीन र अहिंसावादी सांसदको छवी बनाएका छन् । प्रदेश सभाको पहिलो पाँच वर्षे कार्यकाल र दोस्रो कार्यकालमा समेत सरकारको नेतृत्व गर्दा यादव सरकारमा गएनन् ।
जसपा संसदीय दलमा समेत यादवलाई सभामुखबाट रोक्ने प्रयास भएको थियो । जसपाका अन्य केही सांसदहरु पनि सभामुखमा दाबी गरेका थिए । तर दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले रामअशिष यादवको शालीनता, प्रदेश सभामा निरन्तर उपस्थित रहने र मर्यादित रुपमा अभिव्यक्ति राख्ने, प्रदेशसभाको गरिमालाई उच्च बनाउन सक्ने तर्कहरु दिँदै सभामुखका लागि उपयुक्त उम्मेदवार रहेको निस्कर्ष निकालेका थिए ।
उनको निर्णयलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति जनाएपछि यादव पार्टीको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका थिए । निवर्तमान सभामुख मण्डलको कार्यकाल अत्यन्त विवादास्पद बनेको थियो । उनी एमालेलाई मात्र सघाएको, मन्त्रालयहरुबाट धाकधम्की देखाएर योजनाहरु लिएको, प्रदेश सभामा सांसदहरुलाई हातपात गरेको लगायतका आरोप लागेको थियो । सभामुख यादवले पदीय गरिमालाई कायम राख्दै तटस्थ भएर निस्पक्ष रुपमा प्रदेश सभा सञ्चालन गर्ने अपेक्षा सांसदहरुले गरेका छन् ।
प्रदेश सभालाई नियमित र व्यवस्थित रुपमा सञ्चालन गरी मधेश प्रदेशका लागि आवश्यक कानुनहरुको निर्माण गर्न सरकारलाई प्रेरित गर्ने भुमिका सभामुख यादवले निर्वाह गर्नुपर्ने देखिन्छ ।


