सन् १९६० मा पहिलोपटक नेपाल–भारतबीच मुद्राको स्थिर विनियमदर (करेन्सी पेगिङ) को साझेदारी भएको थियो । शुवर्णशमशेरकै नेतृत्वमा नेपाल राष्ट्र बैंक स्थापना भएको ठीक चार वर्षपछि पहिलोपटक नेपाली रुपैयाँ (नेरु) र भारतीय रुपैयाँ (भारु) को पेगिङ गरिएको थियो । भारतीय मुद्रासंग नेपाली मुद्राको निरन्तर स्थिर विनिमयदर कायम भएको ६५ वर्ष पुगेको छ । यसबीचमा नौ पटक स्थिर विनिमयदर परिवर्तन गरिए भने पछिल्लो ३२ वर्षयता एउटै दर अहिलेसम्म पनि कायमै छ ।
२०४९ फागुन १ गतेदेखि एक सय भारु बराबर नेरुको खरिददर १६० रुपैयाँ र बिक्रिदर १६०.१५ रुपैयाँ कायम रहँदै आएको छ । भारतसंगै नेपालको मुद्राको स्थिर विनियमदर कायम गर्नुलाई आर्थिक मात्र नभएर भूराजनीतिक स्वार्थलाई समेत जोडिएको देखिन्छ ।
छिमेकी मुलुक नेपाल–भारतबीच केवल व्यापारिक सम्बन्ध मात्र नभएर सामाजिक, सांस्कृतिक र भूराजनीतिक सम्बन्ध समेत भएकाले हरेक दृष्टिकोणबाट यी दुई देश एकअर्कामा नजिक भएको र प्रभावित पनि भएको अर्थविद्हरु बताउँछन् । पहिलो मुद्रा करेन्सी भारतसंगै भएको र यो निरन्तर आजसम्म कार्यान्वयनमा रहेको अर्थविद् कल्पना खनालले बताइन् ।
भारुसंग नेरुको पेगिङ र यसको निरन्तरता यति मात्र कारण नभएर यसको पछाडि भूराजनीतिक प्रभाव पनि जोडिएको छ । पहिलोपटक भारतीय मुद्रासंग करेन्सी पेगिङ गरेको नेपालले भारतसंगै निरन्तर कायम गर्न चाहन्छ । यसको पछाडि केही राजनीतिक स्वार्थ र प्रभावहरू जोडिएको उनको भनाइ छ ।
एउटै मुलुकसँग वर्षौवर्षदेखि एउटै विनिमयदर कामय गरिराख्ने भन्ने हुँदैन । अन्तर्र ाष्ट्रिय मुद्राको रूपमा रहेको अमेरिकी डलरसंग अन्य मुलुकहरूका मुद्रा चिनियाँ युआन (आरएमबी), स्वीस्, पाउन्ड लगायतसँग भारुको अवमूल्यन हुँदा यसको असर नेपालले पनि स्वतः भोग्नुपर्छ । जसको असर पछिल्लोपटक नेपाली मुद्रामा परिरहेको छ ।
डलरसंग भारु कमजोर हुँदा यता नेरु डलरसंग इतिहासमै कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले जनाए अनुसार पछिल्लो पटक एक अमेरिकी डलरको नेपाली खरिद दर १४२ रुपैयाँ ५४ पैसार र बिक्री दर १४३ रुपैयाँ १४ पैसा पुगेको छ । पछिल्लोपटक शक्ति राष्ट्रहरूबीचको शक्ति सन्तुलनको असर विश्व भूराजनीतिमा पर्दा यसको असर अर्थतन्त्रमा परेको छ ।
सुन र पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकाको कर नीतिका कारण पछिल्लोपटक भारतको अर्थतन्त्र प्रभावित हुँदै आएको छ । जबसम्म निर्यातजन्य वस्तुको उत्पादन, आन्तरिक खपत र निर्यातमा नेपाल सक्षम हुन सक्दैन, तबसम्म भारुसंगको स्थिति विनिमयदर कायमै राख्नु नेपालका लागि फाइदा हुने पूर्व गभर्नर रावलले बताए । अहिलेकै अवस्थामा तत्काल भारुसंगको करेन्सी पेग खारेज गर्नेभन्दा पनि समय सापेक्ष अनुसारको दर हेरफेर गर्नुपर्ने अर्थविद्हरु बताउँछन् ।
बहालवाला अर्थमन्त्री डा.रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले तयार पारेको प्रतिवेदनमा पनि उक्त कुरा उल्लेख गरिएको छ । आयोगले भारुसंग नेरुको स्थिर विनिमयदरका विषयमा गहन अध्ययन गर्दै समय सापेक्ष दरहरू परिवर्तन गर्न उचित हुने सुझाव सरकारलाई दिएको छ । तर यता विगत ३२ वर्षदेखि भारुसंगको नेरुको विनियमदर परिवर्तन भइरहेको छैन ।
नेपाल र भारतले अहिलेसम्ममा नौपटक नेरु र भारुको स्थिर विनियम दर कामय गरेको छ । सबैभन्दा धेरैपटक पञ्चायतकालमा छ पटक विनिमय दर कायम गरिएको छ भने बहुदल आएपछि दुई पटक मात्रै स्थिर विनिमय दर कायम गरिएको देखिन्छ । नौ पटकको परिवर्तनमा सबैभन्दा धेरै भारुको खरिद मूल्य २०४२ मंसिरमा १७० भएको थियो भने सबैभन्दा कम २०२३ जेठमा १०१ कायम गरिएको थियो ।
२०१७ वैशाख १ गते पहिलापटक दुई देशको मुद्राको सटही दर कायम गरेर १५९.७५ रुपैयाँ खरिद दर र १६० रुपैयाँ बिक्री दर बनाइयो । दोस्रोपटक २०२३ साल जेठ २४ मा खरिद दर १०१.२५ र बिक्री दर १०१.६० बनाइएको थियो । तेस्रो पटक २०२४ कार्तिक २२ गने खरिद दर १३५ र बिक्री दर १३५.१५ बनाइएको थियो ।
यसैगरी चौथोपकट २०२८ पुस ७ गते खरिद दर १३९ र बिक्री दर १३९.१५ कायम गरिएको थियो । पाँचौँ पटक २०३४ चैत ९ गते खरिददर १४५ र बिक्रीदर १४५.१५ गरिएको थियो । छैटौँ पटक २०४२ मंसिर १५ गते बिक्री दर र खरिद दर क्रमशः १७० र १७०.१५ रुपैयाँ रहेको थियो भने सातौँ पटक २०४३ जेठ १७ गतेका दिन भारु एकको खरिद दर र बिक्री दर क्रमशः १६८ र १६८.१५ रुपैयाँ बनाइएको थियो ।
आठौँ पटक २०८८ असार १७ गते खरिद र बिक्री दर क्रमशः १६५ र १६५.१५ रहेको थियो भने, सबैभन्दा पछिल्लोपटक २०४९ फागुन १ गते खरिद दर १६० र बिक्री दर १६०.१५ कायम गरिएको थियो । सबैभन्दा पछिल्लो समयमा कामय गरिएको नेरु र भारुको पेगिङ दर पछिल्लो ३२ वर्षदेखिकै निरन्तरता अहिलेसम्म कामय छ ।


