अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ३० जना अनुभवी राजदूतहरूलाई पदबाट हटाएर फिर्ता बोलाएका छन् । ट्रम्प प्रशासनले फिर्ता बोलाएका ती राजदूतहरूको नियुक्ति बाइडेन प्रशासनको समयमा भएको थियो । यी सबै ट्रम्पको दोस्रो कार्यकालमा पनि पदमा रहँदै आएका थिए ।
ट्रम्प प्रशासनको यो कदमले विदेश नीतिमा ठूलो परिवर्तनको तयारी देखाउने बताइएको छ । राष्ट्रपति ट्रम्पको ‘अमेरिका फर्स्ट’ प्राथमिकताहरू पूर्ण रूपमा समर्थन गर्ने कर्मचारीहरूको नियुक्ति गर्नका लागि राजदूत र अन्य वरिष्ठ दुतावासका पदहरूबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउन लागेको बताइएको छ ।
विदेश विभागका दुई अधिकारीहरूले नाम नछाप्ने सर्तमा बताएअनुसार, गत हप्ता कम्तिमा २९ देशमा खटिएका राजदूतहरूलाई सूचना दिइएको छ । उनीहरूको सेवा जनवरीमा समाप्त हुने भनिएको छ । यी सबैलाई गत बुधबारदेखि वाशिङ्टनका अधिकारीहरूबाट नोटिसहरू प्राप्त हुन थालेका थिए ।
अमेरिकी राजदूतहरू राष्ट्रपतिको इच्छाअनुसार काम गर्छन्, यद्यपि सामान्यतया उनीहरू तीनदेखि चार वर्षसम्म पदमा रहन्छन् । नोटिस प्राप्त गर्ने यी सबै राजदूतहरूको नियुक्ति बाइडेनको कार्यकालमा भएको थियो ।
कुन–कुन देश प्रभावित ?
अहिलेसम्म अमेरिकाको स्टेट डिपार्टमेन्ट (विदेश विभाग) ले यसलाई सामान्य प्रक्रिया मात्र भनेको छ । यो निर्णयको सबैभन्दा बढी असर अफ्रिकी देशहरूमा परेको छ ।
अफ्रिकाका १३ देशहरू बुरुन्डी, कैमरुन, केप भर्डे, ग्याबोन, आइभरी कोस्ट, मडागास्कर, मरिसस, नाइजर, नाइजेरिया, रवान्डा, सेनेगल, सोमालिया र युगान्डाबाट राजदूतहरू फिर्ता बोलाइँदै छन् ।
एसियामा ६ देशहरूमा फिजी, लाओस, मार्शल आइल्यान्ड्स, पापुआ न्यू गिनी, फिलिपिन्स र भियतनाममा तैनाथ अमेरिकी राजदूतहरूलाई पनि बदलिँदै गरेको बताइएको छ ।
युरोपमा आर्मेनिया, नर्थ मेसेडोनिया, मण्टेनेग्रो र स्लोभाकियालगायत छन् । यसबाहेक, मध्यपूर्वका दुई–दुई देश अल्जेरिया र इजिप्टबाट पनि राजदूत फिर्ता बोलाइएको बताइएको छ । त्यस्तै, दक्षिण तथा मध्य एसियाका नेपाल र श्रीलंका र पश्चिमी गोलार्धका ग्वाटेमाला र सुरिनामबाट पनि डिप्लोम्याटहरूलाई फिर्ता बोलाइँदै गरेको बताइएको छ ।



