मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामले बहुप्रतिक्षित एनाटोमी प्रयोगशाला भवन निर्माणको औपचारिक प्रक्रिया अघि बढाएको छ ।
प्रतिष्ठानमा सोमबार आयोजित कार्यक्रममा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति जंगीलाल रायले उक्त भवनको शिलान्यास गरेका छन् ।
सो भवनको निर्माण कार्यको ठेक्का वृद्धि कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि. ले पाएको छ । योजना सम्झौता मंसिर १५ गते सम्झौता भइ ३ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो शिलान्यास कार्यक्रममा अस्पताल निर्देशक डा. जामुनप्रसाद सिंह, रजिष्ट्रार प्रा.डा. विनोद कुमार यादव, शिक्षाध्यक्ष प्रा.डा. राम नरेश पण्डित तथा उपकुलपति प्रा.डा. अंकुर शाह उपस्थिति रहेको थियो ।
एनाटोमी प्रयोगशाला स्थापना भएपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एमबीबीएस, नर्सिङ, पारा–मेडिकल तथा अन्य स्वास्थ्यसम्बन्धी विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने रजिष्ट्रार प्रा.डा. विनोद कुमार यादवले बताए । एनाटोमी प्रयोगशालामा मानव शरीरको संरचना, अंग–प्रत्यंग, स्नायु प्रणाली, मांसपेशी, हड्डी तथा अन्य जैविक संरचनाबारे व्यवहारिक ज्ञान प्रदान गरिन्छ । यसले विद्यार्थीलाई केवल सैद्धान्तिक नभइ प्रयोगात्मक र व्यावहारिक रूपमा दक्ष चिकित्सक बन्न सहयोग पुग्नेछ शिक्षाध्यक्ष प्रा.डा. राम नरेश पण्डितले बताए ।
यस्तै प्रयोगशाला सञ्चालनमा आएपछि मधेश प्रदेशमै उच्चस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्ने वातावरण तयार हुने, बाहिरका मेडिकल कलेजमा निर्भरता घट्ने र स्थानीय विद्यार्थीलाई कम खर्चमा गुणस्तरीय शिक्षा उपलब्ध हुने विश्वास लिइएको छ । दीर्घकालीन रूपमा यसले प्रदेशमा दक्ष चिकित्सक उत्पादन बढाउने, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने तथा जनस्वास्थ्य सुदृढीकरणमा महत्वपूर्ण योगदान पुरÞ्याउने अपेक्षा गरिएको छ । उक्त प्रतिष्ठान प्रशासनले समयमै निर्माण सम्पन्न गरी प्रयोगशाला सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।


