आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेशगत मतभार र मतदान केन्द्रहरूको अन्तिम टुङ्गो लगाएका छन् ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार यसपटकको निर्वाचनमा सातै प्रदेशका कुल मतदाताको सङ्ख्या र प्रकारका आधारमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १९ कायम गरिएको छ । प्रदेशगत तुलना गर्दा मधेश प्रदेशमा सबैभन्दा धेरै १० हजार ८३९ मतभार रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ५ हजार १२२ मतभार कायम भएको छ ।
आयोगले कोशी प्रदेशका लागि १० हजार १३५, बागमतीका लागि १० हजार ३५२ र लुम्बिनीका लागि ८ हजार ७५३ मतभार तोकेको छ । त्यस्तै गण्डकीमा ६ हजार ४१० र सुदूरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार निर्धारण गरिएको छ । राष्ट्रिय सभाका रिक्त १९ पदमध्ये १८ पदका लागि यो निर्वाचन हुन लागेको हो ।
जसअनुसार मधेशबाट ४, कोशी र लुम्बिनीबाट ३–३ जना तथा बाँकी चार प्रदेशबाट २–२ जना सदस्य चुनिनका लागि चुनावी प्रतिस्पर्धा हुनेछ । मनोनीत सांसद वामदेव गौतमको रिक्त स्थानमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट नयाँ सदस्य नियुक्त हुने व्यवस्था छ ।
निर्वाचनलाई व्यवस्थित बनाउन आयोगले सातै प्रदेशका राजधानी रहेका जिल्लाहरूमा मतदानस्थल र केन्द्रहरू समेत तोकिसकेको छ । प्रत्येक मतदानस्थलमा प्रदेश सभा सदस्यका लागि ‘क’ र स्थानीय तहका जनप्रतिनिधिका लागि ‘ ख’ गरी दुईवटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ ।


