धनुषाको हँसपुर नगरपालिकामा पर्ने टिल्ही स्थित तपसीबाबा कलेजमा भारत मेदान्ताका विशेषज्ञ डाक्टरको उपचारमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना हुन गइरहेको छ ।
पुष ११ र १२ अगामि शुक्रवार र शनिवार गरि दुई दिवसीय नि:शुल्क स्वास्थ्य शिविरमा भारतको दिल्ली स्थित मेदान्ताका विशेषज्ञ डाक्टर, नेपालको त्रिवि शिक्षण अस्पतालका साथै जनकपुरधामका समेत चर्चित चिकित्सकहरुद्वारा सबै रोगहरुको उपचार, औषधी र परामर्श निशुल्क हुने शिविर आयोजनाका अगुवा समाजसेवी गंगाराम यादव ‘आनन्द’ले बताएका छन् ।
उनको अनुसार शुक्रवार शिविरको नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादव र मुख्यमन्त्री कृष्ण प्रसाद यादवले समुदघाटन गर्ने छ । प्रथम राष्ट्रपति र मुख्यमन्त्री दुवैजनाको मेदान्ता सहित आगन्तुक विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्दै शिविरको शुभारम्भ हुने छ ।
समाजसेवी यादवले धनुषा क्षेत्र नं. २ का ग्रामिण जनताहरु अत्याधिक चिसोका कारण विभिन्न रोगको प्रकोप र सम्भावित प्रभावबाट बचाउन शिविरको आयोजना गरिएको बताए । उनले धनुषा जिल्लाकै कुनै पनि स्वास्थ्य समस्यामा रहेका जिल्लावासी आएर शिविरमा लाभ लिन सक्ने बताए ।


