राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास गरेको छ । यससंगै नेकपा एमालेले निर्वाचनमा सुरक्षा ग्यारेन्र्टीको माग वा यसको विकल्पमा सर्वपक्षीय सरकारको लागि अघि बढ्नुपर्ने एजेण्डासमेत उठाएको छ ।
काठमाण्डुस्थित शीतल निवासमा मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास भएको छ ।
राष्ट्रपति कार्यालयले जनाए अनुसार आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल गराउन सरकार र राजनीतिक दलहरूसंग राष्ट्रपति पौडेलले आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताएका थिए । तर पूर्वप्रधानमन्त्रीसमेत रहेका उनीहरूले भने वर्तमान सरकारकै गतिविधिका कारण दलहरू निर्वाचनमा होमिन सक्ने वातावरण नभएको र अहिलेको सरकारले निर्वाचनको वातावरण बनाउन नसक्ने धारणा राखेका थिए ।
उक्त छलफलमा निर्वाचनमा सुरक्षाको ग्यारेन्टीसमेत गर्न सरकारले नसक्ने भएकाले सर्वपक्षीय सरकार गठन गर्नुपर्ने विषयसमेत उठेको स्रोतको भनाइ छ । शीर्ष तीन नेताको अनुहार नै हेर्न मन नलाग्ने बताउँदै आएकी अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसमेत जेन– जी आन्दोलनपछि पहिलो पटक सहभागी भएर तीनै तीन शीर्ष नेतासँग छलफल गरिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि वातावरण बनाउने प्रयासमा सरकार लागि परेको बताइन् । निर्वाचनको वातावरण बनाउन दलहरूसँग थप छलफल गर्ने उनले स्पष्ट पारिन् । दलका नेताहरुले जेनजीका माग सम्बोधन गर्न पनि प्रतिनिधि सभा आवश्यक भएकाले निर्वाचन भन्दा पनि संसद् पुनस्र्थापना गर्दा चाडो निकास निस्कने धारणा राखेका थिए ।
उनीहरुले दलहरुको छलफल बिना नै सरकारले पूरा गर्न नसकिने माग राखेर जेन– जी सम्झौता गरेर स्टण्ड गर्न खोजेको भन्दै आपत्ति जनाएको स्रोतको भनाइ छ । उनका शुभचिन्तकसंग प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेता बिदा हुनुपर्ने अभिव्यक्ति दिँदै आए पनि अततः सरकार र शीर्ष नेताहरूबीच वार्ताले सरकार र तीन दलबीचको दूरी पनि कम भएको छ ।
प्रधानमन्त्री र तीन दलका शीर्ष नेताको राष्ट्रपति पौडेलको छलफलपश्चात प्रधानमन्त्री बाहिरिएकी थिइन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए अनुसार चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ । राष्ट्रपति पौडेलले बैठकमा भने, ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो ।’ एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षामाथि प्रश्न उठाए ।
अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलका नेताहरूको सुरक्षाको विषय गम्भीर भएको बताए । उनले आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्थानहद तोक्ने, राजनीतिक दललाई निषेध गर्ने, शान्ति सुरक्षाको वातावरण नबनाई चुनाव हुन नसक्ने बताएको उनको सचिवालयले जनाइएको छ । दलहरू निर्भयपूर्वक चुनावमा जाने, उम्मेदवारले प्रचारप्रसार गर्ने, मतदाताले बिनाडर भोट हाल्ने वातावरण सरकारले ग्यारेन्टी गर्नुपर्ने ओलीको अडान थियो ।
कांग्रेसका सभापति देउवाले शान्ति सुरक्षाको विषयलाई प्रमुखताका साथ उठाएका थिए । त्यस्तै नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सरकारले वातावरण बनाए दलहरू चुनावमा जान तयार रहेको बताएको बताइन्छ । उक्त छलफलमा प्रधानमन्त्री कार्की र पूर्वप्रधानमन्त्रीसमेत रहेका तीन दलका शीर्ष नेताहरूको करिब साढे २ घण्टा चलेको थियो ।



