अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफा बिरुद्द भ्रष्टाचार मुद्दा दायर गरेको छ।
हाल देवाही गोनाही तत्कालीन पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफा सहित सडक कालोपत्रे ठेक्का प्रक्रियामा गम्भीर अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह तथा स्थानीय दैनिक पत्रिकाका प्रकाशक एवं प्रधानसम्पादक उपेन्द्रकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारका अनुसार बहुदरमाई नगरपालिकाले आर्थिक वर्ष २०७९र८० मा वडा नम्बर–२ को बैरिया प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत तथा कालोपत्रेका लागि टेण्डर आह्वान गरेको थियो। तर सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय वा स्थानीय पत्रिकामा अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने बोलपत्र सूचना मिलेमतोमा लुकाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
सूचना सार्वजनिक नगरी आफ्ना नजिकका व्यक्तिलाई ठेक्का पार्ने उद्देश्यले स्थानीय दैनिक पत्रिकामा सूचना प्रकाशित नगरी अभिलेखका लागि मात्र एक प्रति पत्रिकामा नक्कली सूचना छापिएको अख्तियारको दाबी छ। प्रेस काउन्सिल नेपालको अभिलेख प्रणालीमा रहेको सोही मितिको पत्रिकाको हार्डकपी र पीडीएफमा कुनै पनि बोलपत्रसम्बन्धी सूचना नदेखिएको आयोगको निष्कर्ष छ।
पत्रिकामा सूचना नै नछापी छापेको भन्दै नक्कली बिल–भरपाई तयार गरी ६५ हजार रुपैयाँ भुक्तानी गरिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत भएको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको हो।
अख्तियारले तीनै जना अभियुक्तविरुद्ध जनही ६५ हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो असुलको मागदाबी गरेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तफा र सहलेखापाल साहलाई मुख्य कसुरदार तथा सम्पादक साहलाई मतियारका रूपमा कारबाहीको माग गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।
सहसचिव महमद शेरे मुस्तुफा पछिल्लो केही महिना अघिमात्र देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका थिए।



