२०८२ पुष १०, बिहीबार ०७:२६

राष्ट्रियसभाको निर्वाचन नजिकिदै गर्दा दलहरू अंक–गणितमा व्यस्त भएका छन् । उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक भएसंगै दलहरु आन्तरिक लेखाजोखामा लागेका छन् । राष्ट्रियसभामा फागुन २० गतेदेखि १९ सदस्य खाली हुँदैछ । १८ पदका निम्ति माघ ११ गते चुनाव हुनेछ ।

एक सदस्य भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था रहेको छ । राष्ट्रियसभाको निर्वाचनका लागि नेकपा एमालेले जेन– जी आन्दोलनदेखि नै विगतको सत्ता समीकरणलाई जीवन्त राख्नका लागि कांग्रेसलाई पछ् याइरहेको छ भने कांग्रेसमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिएर विभिन्न खाले टिप्पणी हुँदा कांग्रेस अनिर्णित बनेको छ । तर एमालेले कांग्रेससंगको सहकार्यलाई प्राथमिकता दिदैँ राष्ट्रियसभामा आफ् नो उपस्थिति बलियो देखाउने दाउमा देखिएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता हुँदै बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पुरानो वर्चश्व कायम राख्न चाहेका छन् । नेकपाले पनि आफ्नो उपस्थिति बलियो बनाउनका लागि कांग्रेससंग चुनावी सहकार्य गर्न चाहेका छन् । नेकपा र एमाले दुबैको प्राथमिकतामा कांग्रेस रहेकाले जुन दलसंग कांग्रेसले गठबन्धन गर्छ, त्यही दल राष्ट्रियसभामा ठूलो बन्ने सम्भावना छ ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेसहितका सांसदको पदावधि सकिन लागेको छ । घिमिरे एमालेबाट निर्वाचित सांसद हुन् । उनी ०८० चैत २८ गते उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । उनीसहित एमालेका ८ सांसद बिदा हुनेछन् । जसमा घिमिरे, गोपाल भट्टराई, इन्दिरादेवी गौतम, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, शारदादेवी भट्ट र सुमित्रा बिसी छन् ।

त्यसैगरी नेकपाका ९ सांसद बिदा हुँदैछन् । माओवादी केन्द्रका ७ सांसदको पदावधि सकिँदैछ । सांसदहरू नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवान बिदा हुनेछन् । त्यस्तै एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल पनि बिदा हुँदैछन् ।

राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतमको पदावधि पनि सकिँदैछ । गौतम हाल नेकपाका नेता छन् । यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शेखरकुमार सिंह, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमारसिंह यादव पनि बिदा हुनेछन् । कांग्रेसबाट अहिले कसैको पदावधि सकिएको छैन । उक्त रिक्त सांसद पदमा पुस २३ गते उम्मेदवारी मनोनयन हुँदैछ ।

चुनावमा कांग्रेससंग गठबन्धन गर्ने विषयमा एमाले र नेकपाबीच प्रतिस्पर्धा छ । एमालेका सचिव राजन भट्टराईले एमालेले कांग्रेससंग गठबन्धनलाई प्राथमिकतामा राखेको जानकारी दिए । जेन–जी आन्दोलनसम्म एमाले र कांग्रेस सत्ता साझेदार थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीचको भेटघाटमा सहकार्य गरेर जाने कुराकानी भएको उनको भनाइ छ । एमालेले नेकपासंग तालमेलको सम्भावना नदेखेको एमाले नेताहरु बताउने गर्छन् ।

कांग्रेसका नेताहरूका अनुसार, आफ्नो पार्टीसंग एमाले र नेकपाले गठबन्धनका निम्ति प्रस्ताव राखेका छन् । तर अहिले भने कांग्रेसले निर्णय गरिसकेको छैन । संविधानतः राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ । निर्वाचन आयोगले २०७८ को जनसंख्यालाई आधार मानेर मतभार तय गरेको छ । जसअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ हुने छ भने स्थानीय तहका मतदाताको मतभार १९ छ ।

मधेश प्रदेशमा राष्ट्रियसभाका लागि चार सदस्य निम्ति निर्वाचन हुनेछ । मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले रहे पनि स्थानीय तहमा भने कांग्रेस बलियो छ । प्रदेशसभामा एमालेका २५ सदस्य निर्वाचित भएका थिए । तर दीपेन्द्र कुमार ठाकुर निलम्बनमा रहेकाले उनले मत दिन मिल्दैन । यसो गर्दा एमाले प्रदेशसभाका २४ सांसदले मत हाल्न पाउनेछन् ।

कांग्रेसका २२, जसपा नेपालका १९ निर्वाचित छन् । जसमध्ये सरोज कुमार सिंह निलम्बनमा छन् । उनले मत दिन पाउँदैनन् । नेकपाका १६, जनमत पार्टीका १३ र लोसपाका ९ सांसद छन् । निलम्बनमा परेका लोसपाका अभिराम शर्माले पनि मत दिन पाउँदैनन् । नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १/१ सांसद छन् ।

यता स्थानीय तहमा कांग्रेसका मतदाता धेरै छन् । कांग्रेससंग १०२, एमालेका ५७, जसपा नेपालका ५१, नेकपाका २९ र लोसपाका २४ मतदाता छन् । जनमतका ३ मतदाता रहेका छन् ।

त्यस्तै स्वतन्त्र ३, विवेकशील साझा २ र तमलोपाका १ मतदाता रहेका छन् । मतभारको हिसाबले हेर्दा मधेश प्रदेशमा सबैभन्दा धेरै मतभार कांग्रेससंग छ ।

कांग्रेससंग ३ हजार १०४, एमालेसंग २ हजार ३५५, जसपा नेपालसंग १ हजार ८७० , जनमतसंग ७४६, नेकपासंग १ हजार ३४६ र लोसपासंग ८८० मतभार छ ।

नाउपा, राप्रपा र संघीय समाजवादीसँग समान ५३, तमलोपासंग १९, विवेकशील साझासंग ३८ र स्वतन्त्रसंग ३७५ मतभार हुन्छ ।

मधेशमा कांग्रेस र एमालेबीच ७४९ मतभारको अन्तर रहेको छ । कांग्रेस– एमाले दुबैबीच गठबन्धन भएमा ५ हजार ४५९ मतभार हुन्छ । कांग्रेस र नेकपा मिलेमा ४ हजार ४५० मत हुन्छ । एमाले र नेकपा मिलेमा ३ हजार ७०१ मतभार हुन्छ ।

Comment


Related News

Latest News

Trending News